
तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारका अग्नी पीडितहरुलाई हेम एण्ड माया फाउण्डेशनले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आगलागीमा परी घरबारविहीन र धनको क्षति भएका अग्नी पीडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । तेह्रथुमको मेन्छयेम गाउँपालिका मोराहाङ घर भइ हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका फाउण्डेसनका सञ्चालकद्वय हेम थापा र श्रीमती माया थापाले धनकुटाको सिंधुवा बजारका अग्नी पीडितहरुलाई ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
एक कायक्रमको आयोजना गरी उक्त सहयोग रकम साेही फाउण्डेशनका प्रदेश-१ का उपाध्यक्ष मित्र परियारले जनप्रतिनिधिको उपस्थितिमा पीडितहरुलाई हस्तान्तरण गर्नुभएको छ । साेही कार्यक्रममा छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवा, वडा नम्बर ६ का अध्यक्ष दिपक गुरुङ, अग्नी पीडित लगायतले समाजसेवी दम्पतीलाई धन्यवाद समेत दिएका छन् ।
उक्त सहयोग रकमलाई क्षतिको अवस्था हेरेर पीडितहरुलाई वितरण गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । गत पुष २९ गतेको आगलागीमा परी सिंधुवा बजारमा ६ वटा घर जल्दा ८ परिवार विस्थापित भएका थिए । साेही राहत रकम प्राप्त गरेपछि आलो घाउमा मलम पट्टिको काम गरेको पीडित सन्तबहादुर राईलेले बताउनुभयो ।
फाउण्डेशनले विभिन्न समस्यामा परेका साथै आर्थिक अवस्था कमजोर भएकाहरुको स्वास्थ्य उपचार, जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान, बाढी, पहिरो, हावाहुरी, भूकम्प, कोभिड-१९ जस्ता विभिन्न विपत्तिका साथै मठ मन्दिर, विद्यालय, अस्पताल, पाटीपौवा र धार्मिक कार्यक्रम लगायका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको फाउण्डेशनका प्रदेश-१ उपाध्यक्ष मित्र परियारले जानकारी दिनुभयो ।
विगत ४० वर्षदेखि समाजसेवामा सक्रिय थापा दम्पतीले असहाय बालबालिकाको शिक्षा दीक्षाका लागि ५६ हजार ८ सय जना भन्दा बढीलाई सहयोग प्रदान गरेका छन् । फाउण्डेशनले देश तथा विदेशमा रहेर विभिन्न समस्यामा परेका मानिसहरूलाई हासम्ममा २५ करोड सहयोग गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्