
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आइतबार नेपाल टेलिकमको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल टेलिकम सरकारको स्वामित्व भएको संस्था भएकाले सरकारको सोच र लक्ष्य अनुसार समेटेर मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित दूरसञ्चार तथा प्रविधिको सुविधा पुर्याउने जिम्मेवारी पनि नेपाल टेलिकमको भएको उल्लेख गर्नुभयो ।
मन्त्री शर्माले विगतको सरकारले लिएको घरघरमा इन्टरनेट हातहातमा मोबाइल महत्वकांक्षी नारा सार्थकता पाएको बताउनभयो । उहाँले नेपाल टेलिकमको ग्राहकले तिरेको महसुलबाट सही सदुपयोग गरेर सुलभ र गुणस्तरीय सेवा पुर्याउनुपर्ने बताउनुभयो । उहाँले नेपाल टेलिकम जस्ता आत्मनिर्भर सरकारी संस्थालाई संरक्षण गरी सेवा प्रवाह, रोजगारी सिर्जना राजश्वको महत्वपूर्ण स्रोतको रुपमा विकास गर्ने राज्यको प्राथमिकता रहने बताउनुभयो ।
मन्त्री शर्माले दुर्गम क्षेत्रमा नेपाल टेलिकमको कर्मचारी कम भएको स्वीकार गर्नुभयो । उहाँले कर्मचारी कम हुँदा मर्मतसम्भारमा ढिलाइ हुने जस्ता समस्या देखिएको उल्लेख गर्नुभयो । उहाँले सरकारले आगामी दिनमा टेलिकमका सेवा भूउपग्रहबाट बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
टेलिकम सञ्चालनमा आएको १९ वर्षको अवधि बित्दा हाल २ करोड १३ लाखभन्दा बढी ग्राहक रहेका छन् । टेलिकमको पीएसटीएन सेवातर्फ ४ लाख ५५ हजार ग्राहक छन् । आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीको कुल राजश्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ भने खुद नाफा ८ अर्ब ४७ करोड रुपैयाँ छ ।
हाल टेलिकममा फोर जी प्रयोगकर्ताको संख्या १ करोड १५ लाख ५० हजार छन् । टेलिकमले देशभर पीएसटीएन, सीडीएमए र जीएसएम लगायतका टेलिफोन सेवा उपलब्ध गराउँदै आइरहेको छ । यस्तै, कम्पनीले सेवाग्राहीहरुलाई इन्टरनेट सेवाको समेत सेवा दिँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्