१२ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025


जनताको आशामाथि निराशाको आगो नझोसियोस्


754
Shares

यसो हेर्दा नेपाली राजनीतिक बानीमा सुधार हुने देखिएन । हुन त आफूलाई वैकल्पिक शक्तिका रुपमा देखाउँदै नेपाली जनताको आशा र भरोसाको आधार बन्न खोजेका दल तथा तिनका नेताहरु पनि कसरी कसले किन सञ्चालित भएका हुन् भन्ने शंका उपशंका लाग्ने गरी बिभिन्डिने गरेको पो देख्न थालियो ।

हामीलाई लागेको थियो, नयाँ उदाएको शक्तिहरु वा जनतालाईँ प्रतिनिधित्व गर्नेहरुमा केही धैर्यता होला, केही योजना होला र तिनको कार्यान्वयन गर्नका लागि सत्तामा सधैँ बस्नैपर्ने स्वार्थी समूहहरुलाई कसरी संसद चलाउनु पर्छ, कसरी विरोधलाई सकारात्मकरुपमा परिचालन गर्नुपर्छ अनि कसरी आवश्यकता पर्दा वैकल्पिकरुपमा सत्ता चलाउनु पर्छ भनेर देखाउलान् भन्ने अपेक्षा गरेका थिए । तर निर्वाचन सम्पन्न नहुँदै परम्परागत दलहरु जसका विरुद्धमा जनमत प्राप्त गरेका थिए, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले, तिनैका पछि लागेर, तिनैका आरोप प्रत्यारोप, प्रतिशोध अनि बदलाका राजनीतिमा मलजल पुर्याउन लागेका देखिए । झन रास्वपाका सभापति रवि लामिछानेका विरुद्ध सर्वोच्च अदालतको फैसलाले नयाँ पाटोको प्रकाश पारेको देखियो अनि फेरि गलतलाई पश्चाताप गर्नुभन्दा दोहोरिएर त्यही गल्ती बारम्बार गर्ने अनि त्यसैमा रमाउने प्रवृत्ति देखियो ।

यदि अहिलेको विडम्बनापूर्ण अवस्थाबाट नयाँ सूत्र निकालेर राजनीतिमा सहकार्य, सहमति र सहजीकरणमा संयमताका साथ मुलुक अघि नबढ्ने हो भने राजनीतिक दुर्घटना निकट समयमा नै घट्दैछ भन्ने कुरा भन्न कुनै ज्योतिषीको आवश्यकता पर्ने छैन । निःस्वार्थरुपमा भन्ने हो भने नेपाली राजनीतिक आकाशमा कालो बादल मडारिएको छ र कुनै पनि बेला शान्त देखिएको नेपाली भूमिमा कुनै बबन्डर स्वतः मच्चिने देखिन्छ । यी दूरदृष्टिका आधारमा भनिएको हो ।

संयमताको कुरामा हालको राजनीतिक उतारचढावमा प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस मौन देखिएको छ र समयको कुनै क्षणको पर्खाइमा देखिन्छ । अर्थात् अहिलेको सत्ता गठबन्धन बिग्रिए पनि तत्काल मध्यावधिमा नजानका लागि सरकारलाई साथ दिएर भए पनि मुलुकमा राजनीतिक स्थिरता दिन चाहेको देखिन्छ जबकि अर्को ठुलो दल नेकपा एमाले जसरी पनि पुरानो गठबन्धनसँग बदला लिनका लागि जे पनि गर्न, जोसँग पनि मिल्न र जस्तोसुकै बदला पनि लिन उद्यत भएको पाइन्छ जसको परिणाममा अहिलेको सरकार, अहिलेको गठबन्धनको संरचना देखिन्छ । नेकपा एमाले, नेकपा माओबादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी जस्ता साततिर फर्केका र सातैओटा सिद्धान्त लिएर हिँडेका दलहरुको एकताले नै देखाउँछ यसको गन्तव्यको कुनै लक्ष्य छैन र पनि अहिले मात्र एमालेको आड भरोस , माओबादीको विश्वासमा चलेको देखिएको छ । खासगरी नयाँ जनमत लिएर आएका दलहरु मध्यावधिप्रति नै हौसिएका छन् र अब छिटै निर्वाचन भएमा परम्परावादी दलहरुलाई अरु दनक दिन सकिन्छ र जनताको मत जितेर सरकार नै बनाउने गरी संसदमा उपस्थिति दिन सकिन्छ भन्ने छ ।

एमालेलाई पनि आफ्नो संगठनप्रतिको विश्वासले वहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने आधार बनाउने विचारमा छ । तर माओबादी र कांग्रेसलाई हिजो मिलेर निर्वाचनमा गएकाले र अहिलेको अलमलले जनमतमा ह्रास हुने डर देखिन्छ । तर राजनीति सधैँ सिधा रेखामा हिँड्दैन भन्ने कुराको साक्षी सरकार बनेको यही एक महिनामा नै वैकल्पिक दलहरुको सत्ता स्वादको स्वार्थ र परम्परावादी मूलधारमा ठुला दलहरुको दाउपेचमा साना दलहरु पेलिएका वा पछि लाग्न बाध्य भएको दृश्यले कुनै चमत्कार तत्काल नहुने अनि मुलुकको राजनीतिक अवस्थामा कुनै सुधार नहुने निराशाको झझल्को पाइन्छ ।

डर त सरकार जाला वा मध्यावधिको मात्र होइन, मुलुक विदेशीहरुको खेलमैदान भएर मुलुकको अस्मितामा माथि असर पर्ला जस्तो देखिन्छ । यस्तै हुलमुल र अस्थिरताको राजनीतिक माहौलमा नै हो धमिलो पानीमा माछा मार्ने अरुले । संविधानको रक्षा कसरी होला, मुलुकको नयाँ राजनीतिक अवस्थाको स्थिरता कसरी संभव होला भन्ने बारेमा सोच्ने काम राजनीतिक कर्मी तथा नेताहरुको पनि त होला नि ?

नेपाल रहे मात्र हामी नेपाली हुने हो । तर अहिलेको ह्रासोन्मुख प्रवत्तिमा मुलुकलाई नै नकारात्मक असर पर्नेछ । भन्छन् नि, फर्सीमाथि चुलेसी परे पनि काटिने फर्सी नै हो, चुलेसीमाथि फर्सी परे पनि काटिने फर्सी नै हो ।

संयमता, सहमति, सिद्धान्तप्रतिको निष्ठाले मात्र राष्ट्रियता,प्रजातन्त्रप्रतिको आस्थालाई सुदृढ बनाउँछ भन्ने कुराको हेक्का रहोस् । जनताको आशामाथि निराशाको आगो नझोसियोस् ।