८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कलात्मक गुँड बनाएर घर-घरमा बस्ने गौंथली संकटमा


520
Shares

काठमाडौं । कलात्मक गुँड बनाएर मानिससँगै एउटै थातथलोमा बस्ने गौंथली बढ्दो शहरीकरणले संकटमा पर्दै गएको छ । प्वाल नराखिएका पक्की घर बनेपछि त झन नेपाली समाजमा लक्षिन मानिने यो चरोसँग आत्मीयता हराउँदै गएको छ ।

गौंथली चरा र मानवबीच घनिष्ठ सम्बन्ध रहेको छ । घरघरमा बास बस्ने गौंथली शहरीकरणसँगै हराउँदै गएका छन् । स्वच्छ वायु र आकासमा स्वतन्त्र रुपमा विचरण गर्न गौंथली अहिले पाउन नै मुस्किल छ ।

गोधुली साँझमा मनमोहक शैलीमा चिरबिर गर्ने गौंथलीको सिजन हो बसन्त क्रृतु । बसन्त क्रृतुको आगमनसँगै श्रीपञ्चमीको दिनदेखि गौंथली बढी देखिन्छ र चिरबिरको आवाजले मानिसलाई मन्त्रमुग्ध समेत पार्ने गर्दछ ।

गौंथली बास बसेको घरमा लक्ष्मी र सरस्वतीको पनि बास हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । महामञ्जुश्री चीनबाट गौंथली चढेर आएको भन्ने किंवदन्ती छ । त्यसैले गौंथलीले गुँड लगाएको घरलाई लक्षिनको रुपमा लिने गरिन्छ ।

घरभित्र कलात्मक गुँड बनाउने गौंथलीले फोहर गरे पनि घर मालिकले भगाउँदैनन, बरु उचित वातावरण बनाइदिने चलन छ । गौंथली गुँड बनाएर बच्चा कोरल्दा वा हुकाउँदा घरमा शुभ हुन्छ भन्ने मान्यताले पनि घरमा बासस्थान संरक्षण हुन्थ्यो । समय चक्रसँगै यस्ता मान्यता र श्रुति परम्परा विस्मृतिको गर्भ भित्र हराउन्दै गएको छ ।
धार्मिक, सामाजिक र वातावरणीय महत्व सँग जोडीएको गौंथली कम देखिन थालेका छन् ।

परम्परागत घरमा परेवा, भँगेरा र गौंथली लगायतका चरालाई बस्न प्वाल राखिएको हुन्छ तर अहिलेको आधुनिक घरमा यस्ता प्वाल राखिदैन । यस्तै, वातावरणीय असन्तुलन र मानवीय कमी कमजोरीका कारण मान्छेको साथी गौंथली संकटपूर्ण अवस्थामा पुगेको छ ।

८६ वर्षिय प्रकृतिप्रेमी एवं वैज्ञानिक डा. तीर्थबहादुर श्रेष्ठ आफनो बाल्यकाल सम्झन्दै काठमाडौंको महावौद्धमा रहेको घरमा गौंथली आवाजले रमाइलो भएको बताउनुहुन्छ ।
राम्रो वातावरणमा मात्र गौंथली बाच्न सक्छ । उहाँले गौंथली लोप हुनुभएको वातावरण प्रदुषण भएको भन्ने बुझ्नुपर्ने बताउनुहुन्छ ।

घरमा गौंथली लगायतको चरा पाल्ने संस्कृति नासिँदै गएको छ । अझ अनियन्त्रित मानवस्तीको विस्तार, प्वाल नभएको पक्की घर निर्माण, दूषित वायु, वासस्थान र चरण क्षेत्रको अभावको कारण गौंथली संकटमा परेको देखिन्छ । संरक्षणको लागि गौथली आवतजावत मार्गमा अवरोध नगर्ने, विषादी प्रयोग नगर्न, सिससार क्षेत्र बचाउन जरुरी छ ।

गौंथलीलाई बचाउने हो भने गुँड बनाएर वा आधुनिक घरमा समेत गौंथलीको लागि उचित वासस्थानको व्यवस्था गरेर संरक्षण गर्न सकिने श्रेष्ठ बताउनुहुन्छ ।

गौंथली सानो चरा मात्र होइन यो मानव सभ्यतासँग पनि जोडीएको छ । गौंथली हुनु भनेकै स्वस्थ वातावरण र हरियाली हुनु हो । तसर्थ यसको संरक्षणको लागि पनि प्रकृति मैत्री विकास आवश्यक छ ।