
काठमाडौं । पवर्तका तीर्थ पुनले पुरुषतर्फ र नेपाल पुलिस क्लबकी रेखा बिष्टले महिलातर्फ गोल्डेन एथ्लेटिक्स मिट–२०२३ अन्तर्गत १० हजार मिटर दौडको स्पर्धामा आईतवार स्वर्ण पदक जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार सम्पन्न दौडमा तीर्थ पुनले निर्धारित दुरी ३० मिनेट ४७.१ सकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा पुलिसकी रेखा बिष्टले ३९ मिनेट ३८.७ सकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।
पुरुषतर्फ नेपाल एपिएफका राजेन्द्र तामाङले निर्धारित दुरी ३३ मिनेट २३.८ सकेण्डमा पूरा गर्दै दोस्रो बन्दा एपिएफकै सन्तोष बिक्रम बिष्टले ३३ मिनेट ३१.३ सकेण्डमा पूरा गर्दै तेस्रो बने । उता महिलातर्फ दोलखाकी अञ्जु खड्काले निर्धारित दुरी ४२ मिनेट ४७.३ सकेण्डमा पूरा गर्दैै दोस्रो बन्दा नेपाल पुलिसकी सुमिमा चौधरी तेस्रो बनिन् । सुमिमाले निर्धारित दुरी ४३ मिनेट ३५ सकेण्डमा पूरा गरेकी हुन् ।
यस्तै, पुरुष १५ सय मिटर दौडमा नागेश्वर ऐरले स्वर्ण पदक हात पार्दा एपिएफका सञ्जीव नेपालीले रजत र विकेश घिमिरेले काँस्य पदक जिते भने महिला तर्फको प्रतिष्पर्धामा नेपाल पुलिसकी राममाया बुढाले स्वर्ण पदक जितिन् । उनले निर्धारित दुरी ५ मिनेट ०.६ सेकेण्डमा पूरा गरेकी हुन् । एपिएफकी फुलमती रानाले ५ मिनेट ०.७ सकेण्डमा पूरा गर्दै रजत पदक हात पार्दा एपिएफकै आशा रावलले ५ मिनेट १२.८ सकेण्डमा पूरा गर्दै कास्य पदकमा चित्त बुझाइन् ।
रंगशालामा आईतवार नै सम्पन्न १ सय मिटरमा कर्णाली प्रदेशका युवराज बिकले स्वर्ण पदक हात पार्दा एपिएफका शिवराम पार्कीले रजत र निरप्रताप महतोले कास्य पदक जिते । यस्तै, महिलातर्फ दाङकी निशा चौधरीले नेपाल पुलिसकी लक्ष्मी साउदलाई पछि पार्दै स्वर्ण पदक जित्दा ललितपुरकी रजिना दुलालले १ सय मिटरको स्पर्धामा कास्य पदक जितिन् ।
यस्तै ४ गुणा १ सय मिटर पुरुष रिलेमा एपिएफले स्वर्ण पदक हात पा¥यो । लुम्बिनी प्रदेशले रजत पदक निकाल्दा नेपाल पुलिस क्लवले कास्यमा चित्त बुझायो । महिलातर्फ एपिएफले स्वर्ण जित्दा हिमालयन एन्जल्सले रजत र नेपाल पुलिसले काँस्य पदक निकाल्यो ।
प्रतियोगिता अन्तर्गत आइतबार नै भएको पुरुष लङ्जम्पमा एपीएफ क्लवका सलिम देवानले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । सलिमले ७.०९ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
सलिमले आफ्नै नाममा रहेको ७.०६ मिटरको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् । यसअघि सलिमले नवौं राष्ट्रिय खेलकुदमा कृष्णबहादुर गिरीको नाममा रहेको ७ मिटरको कीर्तिमानलाई तोडेका थिए । सो कीर्तिमान गिरिले १९९९ मा पाकिस्तानको इस्लामावादमा कीर्तिमान बनाएका थिए ।
यस्तै, सुदीप थारुले ६.६७ मिटर जम्प गर्दै रजत र मिथुन चौधरीले ६.४३ मिटर जम्प गर्दै काँस्य पदक जिते । महिलातर्फ लुम्बिनी प्रदेशकी निशा चौधरीले ५.५२ मिटर जम्प गर्दै स्वर्ण पदक हात पारिन् । यस्तै पुलिसकी सीमा चौधरीले ४.८४ मिटर जम्प गर्दै रजत र एपीएफकी रञ्जिता राईले ४.६० मिटर जम्प गर्दै कास्य पदक हात पारिन् ।
प्रतिक्रिया दिनुहोस्