
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरुले बनाएका कार्ययोजनालाई एकीकृत रुप दिएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रालयस्तरी बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयहरुले बनाएको कार्ययोजनालाई एकीकृत रुप दिएको हो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले ल्याएको न्युनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयहरुलाई आफ्नो आफ्नो मन्त्रालयका कार्ययोजना बनाएर प्रस्तुत गर्न निर्देशन दिनुभएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्युनतम साझा कार्यक्रमलाई कार्यान्वन गर्न र नतिजामुखी बनाउन प्रधानमन्त्रीले दिएको निर्देशन बमोजिम सबै मन्त्रालयहरुले आफ्नो आफ्नो कार्ययोजना प्रस्तुत गरेको र त्यसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत रुप दिएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले सबै मन्त्रालयलाई सरकारको एकीकृत कार्ययोजनाका बारेमा जानकारी दिएको समेत बताउनुभयो । उहाँले एकीकृत कार्ययोजनामा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषयहरु रहेकाले सबैको साझा बुझाइका बारेमा जानकारी गराइएको बताउनुभयो ।
मन्त्री पौड्यालले सरकारको डेलिभरीको समग्र प्रक्रिया नै झन्झटिलो रहेको भन्दै झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा त्यसलाई सुधार गर्न सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्