
काठमाडौं । महोत्तरी जिल्ला अदालतले बालिकाको हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ ।
दुई वर्षअघि महोत्तरीको बर्दिबास नगरपालिका–१४ सुगमबस्तीमा ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि हत्या गरेको आरोपमा अरुणकुमार साहलाई जन्मकैदको फैसला सुनाएको हो ।
अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा साहलाई आजीवन कारावासको सजायका साथै पीडित परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला सुनाइएको महोत्तरी जिल्ला अदालतल जनाएको छ ।
२०७७ मंसिर ७ गते साहले छिमेकका सादिम आलमकी ६ वर्षीया छोरीको अपहरण गरी बेपत्ता बनाएको र पछि जबर्जस्ती करणी गरी घाँटी थिचेर हत्या गरेका थिए ।
यस घटनाको छानबिन हुनुपर्ने र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले गरेको प्रशासनविरुद्धको आन्दोलनका क्रममा बर्दिबास-१ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्