
काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
साविक विजेता एपीएफ क्लबलाई पराजित गर्दै न्यु डायमण्ड स्पोर्टस् एकेडेमीले उपाधि उचालेको हो ।
५ पटकको च्याम्पियन एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै डायमण्डले पहिलो पटक प्रतियोगिताको उपाधि जितेकोे हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा डायमण्डले पहिलो सेटमा एपीएफलाई २८–२६ ले हराएको थियो । दोस्रो सेटमा एपीएफले डायमण्डलाई २५–१९ ले हराउँदै खेलमा पुनरागमन गर्यो ।
प्रतिस्पर्धात्मक खेलको तेस्रो सेटमा डायमण्डले एपीएफलाई २५–२२ ले हरायो। चौथो सेटमा २६–२४ ले पछि परेको डायमण्डले पाँचौँ तथा अन्तिम सेटमा १५–९ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक उपाधि जितेको हो ।
उपाधिसँगै डायमण्डले ३ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । तेस्रो स्थानको लागि आजै भएको खेलमा विभागीय नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । तेस्रो भएको पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतिक्रिया दिनुहोस्