
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएका लाञ्छनाप्रति खेद प्रकट गर्दै त्यसलाई पुष्टि गर्न चुनौति दिनुभएको छ ।
अध्यक्ष सिरोहियाले मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले लगाएका लाञ्छनाको पाँच बुँदे जवाफ दिनुभएको हो ।
नेपालको नागरिकताबिना सांसद र मन्त्री भएको सर्वोच्च अदालतबाट ठहर भइ पद गुमाउनु परेको, गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएको झोकमा तथा दोहोरो पासपोर्टसम्बन्धी प्रहरी अनुसन्धानलाई प्रभावित पार्न लामिछानेले समग्र नेपाली मिडियामाथि सुनियोजित प्रहार गरेको सिरोहियाले उल्लेख गर्नुभएको छ ।
लामिछानेले गत आइतबार पत्रकार सम्मेलन गरी आफ्ना विषयमा कानूनी रुपमा स्थापित तथ्यका आधारमा समाचार लेख्ने मूलधारका मिडिया, मिडिया सञ्चालक र पत्रकारहरूको नामै किटान गरी लाञ्छना लगाउनुभएको थियो ।
लामिछानेले आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचार आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जो कसैलाई पनि सह्य नहुने सिरोहियाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
धम्कीकै कारण अन्यथा भए त्यसको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी र लामिछानेले लिनुपर्ने सिरोहियाले उल्लेख गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्