
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।
एमाले अध्यक्ष ओली निवास बालकोटमा बुधबार बिहान भएको भेटवार्तामा प्रचण्ड र ओलीबीच उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाउने सहमति भएको हो ।
भोलि बिहीबार बस्ने बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुनेछ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान ओली निवास बालकोट जानुभएको थियो ।
ओलीसँगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने जानकारी दिनुभयो ।
राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । तर, सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन ।
एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आएपनि प्रधानमन्त्री प्रचण्ड सहमत छैनन् । यही मतभेदका कारण सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले बुधबार ओलीसँग भेटवार्ता गर्नुभएको हो ।
गत पुस १४ गते बसेको सत्ता साझेदार दलहरुको बैठकले एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो ।
सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित संयन्त्रले सरकार सञ्चालनमा आवश्यकता अनुसार सुझाव तथा मार्गनिर्देशन गर्न सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्