२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

खुम्चिएको साँखुको अश्वखुसी नदी फराकिलो बन्दै


364
Shares

काठमाडौं । कुनै पनि मानव सभ्यता नदीको किनारबाट विकसित भएको हुन्छ । नेपाल मण्डल सभ्यता पनि बागमती नदीको उपज हो । तर, अव्यवस्थित र अनियन्त्रित शहरीकरणसँगैं पवित्र नदी पनि तीब्र अतिक्रमणमा परेको छ । कालो बादलमा चाँदीको घेरा भने झै साँखुको अश्वखुसी नदी पुरानै लयमा फर्कदै छ ।

नेपाल मण्डल सभ्यता बागमती नदीमा विकसित भएको विश्वकै प्राचिन मानव सभ्यता हो । यही नदी सभ्यताकै कारण विश्वमा नेपालको पहिचान बनेको मानिन्छ । धार्मिक र साँस्कृतिक रुपमा नदीलाई पवित्र रुपमा लिने गरिन्छ । जीवनको अन्तिम समयमा भष्म नदीमा नै सेलाए मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । तर, यस्तो महत्व बोकेको नदीको संरक्षणमा कसैको चासो छैन ।

विकासको नाममा वागमती र विष्णुमतीलगायत नदी अतिक्रमणमा परेको छ । नदीको संरक्षण गर्नुको सट्टा करिब २० प्रतिशत मात्र हुने गरी नदीको वास्तविक स्वरुप नै बिग्रने गरी करिडोर निर्माण भएको छ ।

यसमध्ये काठमाडौंको उतर पूर्व क्षेत्रमा रहेको प्राचिन शहर साँखुको अश्वखुसी महत्वपूर्ण नदी मानिन्छ । कृषि प्रधान क्षेत्र साँखु शंखरापुरको अभिन्न अंग यो नदी बचाउन स्थानीय दत्तचित्त दिएर लागेका छन् । उनीहरु विकास नाममा नदी खुम्च्याएर अस्तित्व मेटाउनभन्दा पनि नदीलाई पुरानै लयमा फर्काउन प्रयासरत छन् । स्थानीय सरकार, स्थानीय बासिन्दा र जग्गाधनीसमेत मिलेर २१ सालको नापीले कायम गरेअनुसार नदी फराकिलो गर्ने काम भइरहेको छ ।

करिब २ किलो मिटर बढी लम्वाई भएको अश्वखुसी डोजर लगाएर पुरानै प्राकृतिक स्वरुपमा नदी खोल्ने कामलाई तीब्रता दिइएको छ । नदीलाई पुरानै स्वरुपमा फर्काउदा यहाँको प्राकृतिक सम्पदाको पनि संरक्षण हुने स्थानीय कुन्दन कार्की बताउनुहुन्छ ।

तर, विडम्वना के छ भने यहाँको भूमि कृषियोग्य भएपनि शंखरापुर नगरपालिकामा अधिकासं जग्गा जमिन आवासीय जग्गामा दर्ता भएको छ भने डाँडाकाँडा बालुवा खानीले उजाड बन्दै छ । नदी मानव सभ्यताको अभिन्न अंग भएकाले यसको संरक्षणमा सबैको सहकार्य र सक्रियता आवश्यक छ ।