६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


म्याग्दीको सिममा भेटिए २ सय वर्ष पुराना घर


221
Shares

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-२ काे सिममा २ सय वर्ष पुराना मल्लकालीन वास्तुकलाका आकर्षक घरहरु अझैसम्म पनि इतिहासको साक्षी बनेर रहेका छन् ।

वि.स.१८७० को दशकमा बागलुङका श्रीप्रसाद कँडेलले तत्काली शासकबाट बिर्ता स्वरुप यो गाउँ पाउनुभएको र उहाँले नै यहाँ घरनिर्माण गर्नुभएको जानकारहरुले बताएका हुन् । त्यति बेला जुन निर्माण सामग्री र जुन स्वरुपमा निर्माण गरिएको थियो । अहिले पनि यथावत अवस्थामा नै ति घरहरु रहेका छन् । बिर्ता स्वरुप पाएको यो गाउँ कडेलका सन्ततिले १९७४ सालमा पोखराका लप्टन कोमलसिंह खत्रीलाई बिक्री गर्नुभएको र त्यसयता यहाँ कोमलसिंह खत्रीका सन्तानहरुको बसोबास रहेको छ ।

सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन,बला र टुडाल समेत रहेका ती घरहरुमा आँखी झ्याल, फलाँटे ढोका रहेका छन् । गाह्रोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् ।
बेनी –दरवाङ सडक खण्डको नजिकै करिब ५ सय मिटरको दूरीमा रहेको सिम गाउँमा ६ वटा पुराना घरहरु रहेका छन् । तिमध्ये ‘बुढोघर’ नाम दिइएको ३ तले एउटा घर यहाँको सबै भन्दा पुरानो घर भएको हाल यहाँ बस्दै आउनुभएका लप्टन कोमलसिंह खत्रीका नाति ६३ वर्षीय मनोज कुमार केसीले बताउनुभयो ।

यि घरहरु पुरातात्विक र प्राकृतिक खोज र अनुसन्धानका लागि समेत निकै महत्वपूर्ण भएकाले आफूले यी सम्पदाहरुको संरक्षण गरेको उहाँले बताउनुभयो । घरको तल्लोपट्टि म्याग्दी नदी, माथिल्लोपट्टि बेनी–दरबाङ सडक, वरिपरि फराकिलो खेती योग्य फाँट, सिंचाइकुलो, ढुङ्गा विच्छ्याएर बनाइएको चिटिक्कको बाटो, घर वरपर आँप, विभिन्न फलफूलहरुको बगैंचा, खानेपानी,विद्युत र संचारको सुविधा भएको यो गाउँ अत्यन्त आकर्षक देखिन्छ ।

यहाँका घरहरुको इतिहास २ सय वर्ष पुरानो रहेको र आफूहरु यि सम्पदाहरुको संरक्षण गर्नका लागि बसाइँ सरेर कतै पनि नगएको कोमलसिंह खत्रीकी नातिनीबुहारी विष्णु केसीले बताउनुभयो । खत्री परिवारका सदस्यहरु अष्ट्रेलिया र अमेरिकामा रहेका छन् । जिल्लाकै प्राचीन सम्पदा र ऐतिहासिक महत्वको हुँदा हुँदै पनि सिम गाउँ ओझेलमा परेको छ ।

सरोकारवाला निकायले कुनै चासो नलिएको खत्री परिवारका सदस्यहरुको भनाइ रहेको छ । मल्लकालीन इतिहास, कला, संस्कृति र तत्कालीन समयको सामाजिक परिवेश झल्कने यो गाउँ र यहाँका घरहरुको प्रचारप्रसार गरी यी सम्पदाहरुको ऐतिहासिक महत्वलाई बुझाउन सक्ने हो भने यो गाउँ पर्यटकीय महत्वको गाउँ बन्न सक्ने प्रवल सम्भावना रहेको छ ।