
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले राजनीतिक व्यक्तित्वबाट नै राष्ट्रपति बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार संसदको दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता शर्माले राष्ट्रपति राजनीतिक व्यक्तित्वबाटै बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । उहाँले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रिय सहमति हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, माओवादी केन्द्रकै नेता महेन्द्रबहादुर साहीले राष्ट्रपतिमा कस्तो व्यक्ति उभ्याउँदा सबै एक ठाउँमा आउन सकिन्छ भनेर छलफल चलिरहेको बताउनुभयो । उहाँले राष्ट्रपति राष्ट्रप्रति प्रतिवद्ध व्यक्ति हुनुपर्नेमा जोड दिनुभयो ।
जनता समाजवादी पार्टी, नेपालका नेता अशोक राईले आफूहरु सत्तारुढ गठबन्धन भित्र नरहेको बताउनुभयो । सरकारलाई समर्थन गरेपनि आफूहरु गठबन्धनमा सामेल नभएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले सरकार सँग आफूहरुको कुनै माग नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्