
बझाङ । बझाङका २ वटा नगरपालिका र १० वटा गाउँपालिकामा अहिले राष्ट्रपति रनिङ शिल्ड जारी रहेको छ ।
१३ औं राष्ट्रपति रनिङ शिल्डको तयारीमा १२ वटै स्थानीय तहहरु लागि परेका हुन् । विथ्थडचिर गाउँपालिका, साईपाल गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरिकेको छ । अन्य पालिकाहरुले भने अहिले गरिरहेका छन् । साईपाल गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्डमा खेलमैदान अभावका कारण काँडा माविको प्राङ्गणमा सम्पन्न भएकाे छ ।

खेलमैदान अभावकै कारण गाउँपालिकाले १६ सय मिटरको दौड र ६ सय र ३ सय मिटरको दौड प्रतियोगितामा सहभागी बालबालिकाहरुले ४ राउण्ड लगाउन परेको स्थानीयवासीन्दाहरूले बताएका छन् । खेल मैदान अभावका कारण निकै समस्या खेप्नु परेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशिले बताउनुभयाे । उहाँले खेलमैदान अभाव र भौगोलिक विकटता खेलमैदान बनाउने प्रयाप्त ठाउँ नहुनु र पालिकामा बजेटको अभावका कारण खेलमैदन नभएको बताउनुभयाे ।
यता मष्टा गाउँपालिकाले भने खेल मैदान अभावका कारण दौड प्रतियोगिता भातेखोला बाहुन गाउँदेखि खेती सम्मको सडकमा सम्पन्न गरेको छ । मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले पालिका भरी खेलमैदान नभएकाे बताउनुभयाे । त्यस्तै तलकोट गाउँपालिकाले भने करिब १ करोडको लगानीमा खेलमैदान निर्माण गरेको छ । निर्माण गरेको खेलमैदान अधुरै रहेका कारण त्यहाँ खेलकुद प्रतियोगिता भएको छैन । अहिले याे गाउँपालिकाले पनी हिमालय माविमा राष्ट्रपति रनिङ शिल्ड संचालन गरी रहेको छ।

यता थलारा गाउँपालिकामा समेत थलारा माविकोको प्राङ्गणमा खेलकुदका कार्यक्रमहरु संचालन गरी रहेको छ । खेल मैदान निर्माणका लागि पालिकाबाट करिब १ करोड लगानी भएको भएपनि निर्माण गरिएको खेलमैदान भने अस्त ब्यवस्त अवस्थामा छ। ज्यानको जोखिम मोलेर विद्यार्थीहरुले प्रतियोगितामा भाग लिनु परेको देख्दा आफूलाई दु:ख लागेको थलारा माविका प्रध्यानाध्यापक शेरबहादुर चौहानले बताउनुभयाे ।
जिल्लाको छविसपाथिभेरा गाउँपालिकाले भने पालिकाभित्रै रहेको बान्नीको मेला लाग्ने बान्नीचौरमा प्रतियोगिता गरिरहेको छ । यस पालिकामा पनि छुट्टै ब्यवस्थित खेल मैदान छैन । जिल्लाको दुर्गाथली , केदारस्युँ, विथ्थडचिर र खप्तडछान्ना गाउँपालिकाले पनि विद्यालयको प्राङ्गणमा नै खेलकुदका कार्यक्रमहरु गरिरहेको छन् । सानो प्राङ्गणमा जबरजस्ती खेल खेल्नु पर्ने समस्याले प्रतियोगितामा सहभागी बालबालिकाहरुको हातखुट्टा भाँचिने तथा चोट पटक लाग्ने समस्या वर्षौदेखि चल्दै आएको छ ।

उता सुर्मा गाउँपालिकामा समेत खेल मैदनको अभावका कारण सुर्मा मावि ठकुन्डाँडामा रहेको विद्यालयको प्राङ्गण नै प्रयोग गर्नुपर्यो । खेल मैदान अभावकै कारण यस पालिकामा रहेका विद्यार्थीहरुले दौड र अन्य प्रतियोगिता नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि शान्ति बोहराको बाँझो खेतमा खेल संचालन गरेको छ । पालिकामा खेल मैदान अभावका कारण खेलमा गएर खेल खेलाउनु परेको वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्रबहादुर बोहराले बताउनुभयाे ।

जिल्लाकै मुटुमा रहेको जयपृथ्वी नगरपालिकामा समेत खेलमैदान छैन । सत्यबादी माविको विद्यालयको खेल मैदान ब्यवस्थित पार्न सकेको छैन । ठाउँ भएका विद्यालयहरुमा पनि स्थानीय तहहरुले राजनीति खिचातानी आदिका कारणले ब्यवस्थित खेल मैदान निर्माण हुन नसकेको स्थानीयको गुनासो छ ।
कराेडौं लगानीमा निर्माण गरेको बुंगल नगरपालिकाको खोल्लेखमा निर्माण भएको खेल मैदान समेत ब्यवस्थित छैन । खानेपानीको समस्या रहेको उक्त ठाउँमा खेल मैदान हुनु र नहुनुको कुनै औचित्य नरहेको त्यहाँका स्थानीयवासीहरू बताउछन् । तर जनप्रतिनिधिहरुले सबै एकै पटक गर्न नसकिने विस्तारै ब्यवस्थित गर्दै अघि बढ्ने बताएका छन् ।

सेती नदी र बाहुली खोलकोबीचमा रहेको जिल्ला स्तरकै प्रतियोगिता गर्ने उदेश्यले निर्माण हुन लागेको खेल मैदान पनी अस्त ब्यवस्त अवस्थामा छ । करिब २ करोड भन्दा बढी लगानी भएकाे भए पनि अहिलेसम्म ब्यवस्थित हुन सकेको छैन । उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले खेल मैदान अभावका कारण प्रतियोगिता गर्न समस्या हुने र आफूहरुले खेल संचालन गर्दा खेती योग्य जमिन भाडामा लिएर खेल संचालन गर्नु परेको बताउनुभयाे ।

बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले खेलकुद क्षेत्रलाई राजनीतिक तथा जनप्रतिनिधिहरुले केवल मनोरञ्जनका लागि मात्रै लिएका कारण विकास हुन नसकेको बताउनुभयाे।
प्रतिक्रिया दिनुहोस्