
काठमाडौं । चिकित्सकहरुले स्वास्थ्य सेवा बन्द गर्ने आन्दोलन स्थगित गरेका छन् ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा प्रहरीले ट्रमा सेन्टरका चिकित्सकमाथि गरेको हातपातको बिरोधमा आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गरिएको गरिएको थियो ।
नेपाल चिकित्सक संघको आह्वानमा भएको आन्दोलन सरकारसँग वार्ता भएसँगै आन्दोलन स्थगित भएको हो । घटनामा संलग्न सबै सुरक्षाकर्मीहरुको सम्बन्धमा एक हप्ताभित्र छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।
त्यस्तैगरी घाइते चिकित्सकहरुको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने सहमति पनि भएको छ ।
आन्दोलनरत चिकित्सकहरुको तर्फबाट सरकारसँग वार्ता गर्ने टोलीका संयोजक तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा स्वास्थ्य संस्था, विद्यालय लगायतका संवेदनशील क्षेत्रहरुमा असहजता नहुनेगरी विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई परिमार्जन गर्न एक हप्ताभित्र सुझाव पेस गरिने र सो सुझावलाई सरकारले कार्यान्वयनमा लैजाने सहमति भएको जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने पनि सहमति भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्