१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा दुई करोडको सुन्तला बिक्री


39
Shares

काठमाडौं । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यस वर्ष बोटबाटै रु. दुई करोडको सुन्तला बिक्री भएको छ ।

सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यस वर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन् ।

दोसल्लेकी किसान मायादेवी पुनका अनुसार गत वर्ष सुन्तला बिक्री गरेर गाउँमा रु. ७५ लाख भित्रिएको थियो । ‘यसवर्ष पाक्दै गरेको सुन्तला पोखरा, चितवन र काठमाडौंका व्यापारीले बगैँचाबाट नै प्रतिकिलो रु. ९५ मा किनेका हुन्’, उहाँले भन्नुभयो ।

दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले गतवर्ष ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा भित्रिएको जानकारी दिनुभयो । ‘यसवर्ष दुई सय नयाँ बोटमा फल लागेकाले उत्पादन पनि राम्रो भएको छ । रु. दुई करोडको हाराहारीमा सुन्तला बिक्री भएको छ’, अध्यक्ष पाइजाले भन्नुभयो ।

उहाँका अनुसार एक किसानले रु. ५० हजारदेखि रु. दुई लाख ३० हजारसम्मके सुन्तला बिक्री गरेका छन् । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो ।

परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान मिलन गर्बुजाले बताउनुभयो । “तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट दुई लाख भन्दा बढी आम्दानी भएको छ”, उहाँले भन्नुभयो ।

दश वर्षअघि गर्बुजाले दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु गरेका थिए । सडक, यातायातको सुविधा भएपछि बाँझो पाखोबारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइएको उहाँको भनाइ थियो ।

भिरालो पाखोमा अवस्थित यहाँको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

वैदेशिक रोजगार र खेती किसानीबाट धानिएको यहाँका बासिन्दाको जीवनस्तर पछिल्लो समय व्यावसायिक सुन्तला खेतीबाट सुध्रँदै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।

म्याग्दीका ६ वटा स्थानीय तहका १४ वटा गाउँमा व्यावसायिक सुन्तला खेती गरिन्छ । जिल्लाभरीमा यसवर्ष रु. २० करोड भित्रिएको केन्द्रले जनाएको छ ।