१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै


156
Shares

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउनलाग्नु भएको छ ।

परराष्ट्र सचिव भरत राज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लाग्नुभएको हो ।

सोमबार बिहान काठमाडौं उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । भेटवार्तामा कनेक्टिभिटी, जिद्युत व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृति लगायत द्विपक्षीय सहकार्यका आधादर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहालको निकट भविष्यमा हुने भारत भ्रमणबारे पनि कुराकानी हुने बताइएको छ । दाहाललाई उहाँले भारत भ्रमणको निम्ता दिने बताइएको छ । सोमबार नै क्वात्राले परराष्ट्रमन्त्री बिमला राईसँग शिष्टाचार भेट गर्नुहुने छ ।

त्यसपछि उहाँले दिउँसो प्रधानमन्त्री दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ। क्वात्राले नेपालम रहँदा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा लगायत राजनीतिक दलका नेताहरुसँग भेट्नुहुने छ ।

राष्ट्रपति निर्वाचनको मुखमै छिमेकी भारतका विदेश सचिवको नेपाल भ्रमण हुन लागेको हो । नेपालमा अमेरिका लगायत पश्चिमा देशले पछिल्लो समय बढाएको सक्रियताप्रति भारत सशंकित छ । दुई सातामा अमेरिकाबाट दुई वरिष्ठ अधिकारीको नेपाल भ्रमण भएको थियो । त्यसैगरी दक्षिण एसियाली मामिला हेर्ने अर्की एक अमेरिकी अधिकारी अफ्रिन अख्तर पनि सोमबार नै नेपाल आउने तयारी छ ।

परराष्ट्र मन्त्रालयले क्वात्राको भ्रमणलाई दुई देशबीचको सम्बन्ध अझ विस्तार र सुदृढ गर्ने अवसर भएको बताएको छ । नेपाल र भारतले शुक्रबार भ्रमणको संयुक्त घोषणा गरेका थिए । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो ।