
म्याग्दी । म्याग्दीको कालीगण्डकी नदीबाट लगिएको देव शिला भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान राम र सीताको मुख्य मूर्ति बनेर स्थापित हुँदै छ ।
तर, सोही नदीका अन्य देव शिलाहरु नदी बगरमा नै अलपत्र परेका हुन् । अयोध्या लगिएको कालीगण्डकीको शिलालाई वैज्ञानिकहरूले ६ करोड वर्ष पुरानो हो भनेर प्रमाणित गरेका छन् । त्रेतायुगमा एक श्रापित स्त्री अहिल्या ढुंगा भएकी थिइन् र भगवान श्रीरामको स्पर्शमात्रले उनले पुनः आफ्नो स्वरूपलाई प्राप्त गरेकी थिइन् भन्ने धार्मिक मान्यता छ ।
कालीगण्डकीको एउटा शिला करोडाैं वर्षको प्रतीक्षा पश्चात भगवान श्रीराम बन्न गइरहेको छ । तर त्यही कालीगण्डकी नदीमा रहेका त्यति नै महत्व भएका अन्य शिलाहरु बजार संरक्षण, नटबन्ध निर्माण लगायतका अन्य विकास निर्माणका बहानामा धमाधम फोडिदै गएकोमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्डमा काम गरिरहेको निर्माण ब्यवसायीहरूले कालिगण्डकी नदीमा एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुंगा निकालेका छन् ।
हजारौं वर्षदेखि नदीमा जमेर बसिसकेको ढुंगालाई मेसिन (स्काभेटर) को प्रयोग गरी छियाछिया पारी, पर्खाल नाली र पहिरो रोकथाममा प्रयोग गरिरहेको छ ।
गत माघ ८ गते बेनी नगरपालिकाका मेयर सुरत केसीले बेनी–गलेश्वर सडक स्तरोन्नतिको शिलान्यास गर्दा सडक निर्माणस्थलभित्र पर्ने कालिगण्डकी नदीका ढुंगाा निकाल्न र फोड्न नपाइने बताउनुभएको थियो । तर, सडक निर्माणको जिम्मा लिएको जय धन्नजय-मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले सम्झौता र मापदण्ड विपरित कालीगण्डकीका विशाल शिलाहरु निकालेर फोडेको र नदीको दोहन भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
केही दिन अगाडि भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने भगवान राम र सीताको मूर्ति बनाउनका लागि निर्माणाधिन सडक खण्डबाटै दुई वटा शिला लगिएकाले शिला उत्खनन् आसपासका क्षेत्रमा समेत सचेत भएर काम गर्न मेयर केसीले अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्