
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको उच्चतम योगदानको सम्मान गरेको बताउनुभएको छ ।
सोमबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आजको बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको बताउनुभयो । उहाँले बिदालाई लिएर पूर्वाग्रह राख्नेहरुले जेसुकै भनेपनि संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेश, बागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको बताउनुभयो ।
उहाँले जनताको जीवनमा परिवर्तनको अनुभुति गराउन नसके चुनौतिहरुको चाङ लाग्ने र परिवर्तनप्रति नै प्रश्न उठ्ने पनि बताउनुभयो । उहाँले यसप्रति सबै प्रदेश सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
उपराष्ट्रपति पुनले संविधानलाई परिष्कृत परिमार्जन तथा संशोधन गरेर समृद्धि बनाउन र पूर्ण कार्यान्वयन गर्न अझै धेरै मेहनत गर्नुपर्ने बताउनुभयो ।
उहाँले शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगोमा पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्