
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजीबजार लगानीकर्ताको माग सम्बोधन हुन नसकेको गुनासो गरिएको छ ।
शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा पुँजीबजारमा देखिएका नीतिगत समस्या सुधार हुने अपेक्षा लगानीकर्ताको रहेपनि अपेक्षानुसार नभएको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।
राष्ट्र बैंकले आश्वासन दिएर पनि यो माग सम्बोधन नगरेर शेयर लगानीकर्तालाई उपेक्षा गरको उनीहरुको ठहर छ । नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले शेयर लगानीकर्ताको माग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि राष्ट्र बैंकले सम्बोधन नगरेर उपेक्षा गरेको बताउनुभयो ।
उहाँले अर्थतन्त्र असहज हुँदा ल्याइएका नीति अर्थतन्त्र केही सहज हुँदा पुनारावलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा र चासो भएपनि अपेक्षा अनुसार नआएको गुनासो गर्नुभयो । उहाँले ४/१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई भने त्यस्तो असर नगरेको बताउनुभयो ।
उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरे मात्रै पुँजीबजारको दिगो विकास हुनसक्ने बताउनुभयो ।
यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि शेयर लगानीकर्ताले ४ वटा माग राख्दा समेत राष्ट्र बैंकले सम्बोधन नगर्नु शेयर बजारप्रति उपेक्षा भएको आरोप लगाउनुभयो ।
उहाँले आफूहरुले राखेको ४/१२ को नीतिमध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । उहाँले शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनुपर्ने भन्दै राष्ट्र बैंक निर्देशिकामा सम्बोधन गर्ने आशा रहेको पनि बताउनुभयो ।
उहाँले लगानीकर्ता संघहरुले १२ करोड सम्मको शेयर कर्जाको सीमाले शेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता गरिनुपर्ने माग कायम रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएपश्चात पुँजीबजारमा नीतिगत सुधार हुन्छ भन्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिको समीक्षामा लगानीकर्तालाई सम्बोधन नगर्दैमा लगानीकर्ता निराश भएर बजारबाट भाग्न नहुने पनि बताउनुभयो । उहाँले पुँजीबजार लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताउनु भयो ।
अध्यक्ष पोखरेलले नेपालको पुँजीबजार राजनीतिक इगोको कारण पनि धरासायी बन्दै गएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्