
काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटवार्तामा विकासका सहायता, कनेक्टीभटी अन्तर्गत हवाई यात्राको कनेक्टीभिटी, बनिरहेका एयरपोर्टलाई पूर्ण रुपमा सञ्चालन गर्न रुटहरु खोल्ने र ट्रेट ब्यारियरका बारेमा छलफल भएको परराष्ट्रमन्त्री पौड्यालले जानकारी दिनुभयो ।
भारतबाट सामान आउँदा रोकिने समस्या, विद्युतलाई अझ बढी उत्पादन र बिक्री गर्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।
मन्त्री पौड्यालले भेटमा दुई पक्षीय सम्बन्धलाई बलियो बनाउँदै विकासका सहायतालाई अघि बढाउने र सम्झौता गरिसकेका विषयमा सफल रुपमा कार्यान्वयन गर्ने बारेमा पनि छलफल भएको जानकारी दिनुभयो ।
भेटवार्तामा जलवायु परिवर्तनको जोखिम न्युनिकरणका लागि दक्षिण एशिया स्तरको बलियो संयन्त्र बनाएर विश्वको जलवायु सम्बन्धी फोरममा कसरी एउटै आवाज बनाएर लैजाने विषयमा पनि छलफल भएको बताइएको छ ।
मन्त्री पौड्यालले छिमेकीसँगको सम्बन्ध र दौत्य सम्बन्धलाई बलियो बनाउने बारेमा पनि विदेश सचिव क्वात्रासँग छलफल भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्