
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुका विरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताउनुभएको छ ।
मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले)को नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताउनुभयो ।
उहाँले बुर्जुवाहरुले सरकारमा बसेर जतिसुकै बर्बादीको काम गरेपनि नागरिक समाज सडकमा नआउने तर एमालेले जनताको हीतको पक्षमा काम गर्दापनि सडकमा आउने गरको भन्दै आपत्ति जनाउनुभयो । नागरिक समाजको अगुवाहरु यथास्थितिवादको पक्षमा रहेको उल्लेख गर्दै उहाँले उनीहरुले समाज विकासलाई रोक्न भुमिका खेलेको बताउनुभयो ।
महासचिव पोखरेलले एमालेकाविरुद्ध सडकमा आउने नागरिक समाजकै विरुद्ध अनेरास्ववियु वैचारिक र राजनीतिक रुपमा खडा हुनुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले समाजमा धार्मिक अतिवाद र धर्मान्तरको नाममा आक्रमण भइरहेको भन्दै नेपाली सांस्कृतिक मूल्य, मान्यताको जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले संस्कृति रक्षाको पक्षमा उभिन पनि अनेरास्ववियुका विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । इतिहास र संस्कृतिमाथि आक्रमण भए राष्ट्र कमजोर हुने उहाँले बताउनुभयो ।
उहाँले एमालेको नेतृत्वमा देश चलेमा कसैले भविष्यको बारेमा चिन्ता लिनु नपर्ने बताउनुभयो । देशको विकास र समृद्धि एमालेको नेतृत्वबाट मात्रै हुने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्