
काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको छ ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा मन्त्री पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको हो ।
सो क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले बजेटको मध्यावधि समीक्षा नगरे बजेट कार्यान्वयनमा झनै धेरै चुक्ने स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले भन्सुनका आधारमा योजना छनोट गर्ने जमानाको अन्त्य भएको बताउनुभयो । उहाँले नेपालमा अब भन्सुनका आधारमा योजना छनोट नहुने दाबी गर्नुभयो ।
मन्त्री पौडेलले योजनाहरु आवश्यक्ताका हुन् वा होइनन् भन्नेकुराको अध्ययन गरेर मात्रै डिपिआर बनाउने, अरु युटिलिटीका कामहरु सकिसकेपछि आयोजनालाई कार्यान्वयनमा लैजाने विषयको प्राथमिकीकरण गरेर कार्यान्वयनमा जाने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले अझैपनि प्रदेश र स्थानीय तहका योजनाहरु संघको सूचिमा रहेको भन्दै संघीयताअनुसारको बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री पौडेलले वर्तमान सरकार भन्सुनको आधारमा बजेट विनियोजन गर्ने अभ्यासलाई सम्पूर्ण रुपमा समाप्त गर्न औचित्य, आवश्यक्ता र प्राथमिकताका आधारमा बजेट कार्यान्वयनको प्रक्रियालाई अघि बढाएर आयोजना छनोटको प्रक्रियालाई अघि बढाउन संकल्पवद्ध रहेको स्पष्ट पार्नुभयो ।
मंगलबारको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेस गर्नुभएको थियो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकारबाट मन्त्रीपरिषद्को मिति २०७९/०६/२८ गतेको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेस गर्नुभयो ।
त्यस्तै, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाका पूर्व सांसद कर्मा घलेको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक फागुन १४ गते बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्