
काभ्रे । बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्ने भएको छ ।
हरेक वर्ष ५ किलोमिटर सडक पालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना अन्तर्गत पहिलो आयोजना एक कार्यक्रमकाबीच शिलान्याश गरिएको हो ।
चालु आर्थिक वर्षमा पाटीखर्क-चलाल गणेशस्थान-आलुबारी पाटी-मुसेखोल्सा सडक अन्तर्गत ३.७ किलोमिटर सडक कालोपत्रे गरिने गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो ।
जसअन्तर्गत २.५ किलोमिटर कालोपत्रे र ढलान ११ सय ८५ मिटर गरिने छ । उक्त सडकले पालिकाको वडा नम्बर १, २ र ४ लाई जोड्ने छ । सडक कालोपत्रेका लागि ९ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा श्री जोशी जी,घिसिङ जेभीले मूल्य अभिवृद्धि कर बाहेक ४ करोड ८६ लाख ७६ हजार ९ सय ३० रुपैयाँमा काम गर्नेगरी सम्झौता भएको छ । उक्त आयोजना २०८० जेठ ८ गते सम्पन्न गर्नेगरी सम्झौता भएको हो ।
संघ र प्रदेशले बजेट दिन्छन् र काम गरौंला भनेर आश गर्ने मात्रै नभई पालिका आफैं पनि दिर्घकालिन र गौरबका आयोजना अगाडी बढाउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष अधिकारीको भनाई छ । गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले सडक कालोपत्रे भएसँगै पर्यटकीय क्षेत्र बेथानचोकको विकासमा सघाउ पुग्ने बताउनुभयो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले सडकको गुणस्तरमा सम्झौता नहुने बताउनुभयो । यस्तै, गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले स्थानीयसँगको छलफलबाट सडक विस्तार गरिनुपर्नेमा जोड दिनुभएको छ ।
उक्त सडक ललितपुर हुँदै मकवानपुरस्थित धरान-चतरा सडकमा जोडिने छ । बेथानचोकको ढुंखर्कबाट ४८ किलोमिटरको दुरीमा मकवानपुर रहेकाले यो सडकलाई छोटो र भरपर्दो वैकल्पिक सडकका रुपमा हेरिएको छ । यसअघि पनि बेथानचोक गाउँपालिका सहित ललितपुरको महांकाल गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाबीच यो सडकलाई व्यवस्थित बनाउन सहकार्य गर्ने समझदारी बनेको बेथानचोक गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्