१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्रीको कार्यशैलीप्रति सांसदको असन्तुष्टि


104
Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले संसदलाई ‘बिजनेश’नै नदिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरुको कार्यशैलीप्रतिनै असन्तुष्टि जनाउनुभयो ।

बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद दाहालले मन्त्री र सचिवले दिनभर गोप्य मिटिङ भनेर समय बिताउने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले बैठक भनेर समय बिताउने मन्त्रीहरुको तौरतरिका ठिक नभएको बताउनुभयो । सांसद दाहालले बेलुका सचिवसँग छलफल गरेर दिनभर काम गर्ने गरी समयको व्यवस्थापन गर्न पनि मन्त्रीहरुको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसदलाई ‘विजनेश’नै दिन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले निजामती कर्मचारी ऐन कहाँ छ ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । सांसद पन्तले ऐन बनाउने काममा सरकारले ध्यान नदिएकाले प्रदेश र स्थानीय तहले काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

सांसद पन्तले संघीयताको कार्यान्वयनमा गम्भिर भएर लाग्न पनि सबै जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले महिला जनप्रतिनिधिहरु संघीयताको भावना अनुसार काम गर्न अझ बढि जिम्मेवार बन्नुपर्ने देखिएको पनि दोहोर्‍याउनुभयो ।