
काभ्रे । सभामुख देवराज घिमिरेले जनप्रतिनिधिले गर्ने हरेक क्रियाकलाप जनताले नियालिरहेको बताउनुभएको छ ।
बागमती प्रदेश सभाका सदस्यका लागि धुलिखेलमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको गरिमा बढाउने गरी सांसदले भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
जननिर्वाचित प्रतिनिधिले गर्ने अभिव्यक्ति, प्रत्येक गतिविधिहरु, शैली, चिन्तन, कृयाशिलता र दृष्टिकोण तथा दृष्टिकोणका आधारमा गरिने व्यवहारलाई जनताले नियालीरहेको उहाँको भनाई थियो । संसदको गरिमालाई उठाउने गरि सांसद सकृय हुनुपर्नेमा सभामुख घिमिरेले जोड दिनुभएको छ ।
उहाँले संसदको गरिमाले सरकारलाई गम्भिर बनाउँदै सरकार संसदप्रति जवाफदेही हुने बताउनुभयो । गतिशिल र रचनात्मक संसद भएको खण्डमा सरकारले गति प्राप्त गर्ने र सरकारले परिणाममुखी काम गर्न सक्ने हुँदा सांसदको गरिमा आफै बढ्ने उहाँले बताउनुभयो । सभामुख घिमिरेले गोष्ठीमा बागमती प्रदेश सरकारले निकालेका निष्कर्ष र अनुभवहरु अन्य प्रदेशमा पनि कार्यान्वयन गर्नका लागि प्रेरणादायी हुने बताउनुभएको छ ।
बागमती प्रदेश सरकारका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारमाथी प्रश्न उठिरहेको सन्दर्भमा यो आवश्यक छ भन्ने प्रमाणीत गर्ने दायित्व पनि आफूमाथी रहेको बताउनाुभयो । जनप्रतिनिधिले गर्ने काम जनताको भावनासँग र जनताको समस्यासँग जोडिनुपर्नेमा उहाँको जोड थियो ।
बागमती प्रदेशमा संघीय राजधानी भएकाले पनि यो प्रदेशले गर्ने कामले अन्य प्रदेशलाई पनि प्रभावित पार्ने उप–सभामुख अप्सरा चापागाँइले बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा विधि निर्माण प्रकृयामा सांसदको भूमिका, संसदीय गतिविधिमा सांसदको कर्तव्य र सुविधा तथा विधि निर्माण प्रकृयामा सांसदको भूमिकाका बारेमा छलफल हुने बागमती प्रदेश सभाका सचिव कृष्णहरी खड्काले बताउनुभयो ।
बागमती प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको स्थायी राजधानी हेटौंडा र प्रदेशको नाम बागमती राख्ने कार्य सम्पन्न भएको थियो । यस्तै, ५ वर्षको अवधिमा ७० वटा कानून पारित भएको थियो भने ३३ वटा पाइपलाइनमा छन् । बागमती प्रदेशसभामा १ सय १० जना सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्