
काठमाडौं । विगतमा शहरी क्षेत्रमा मात्रै खाना पकाउन एलपी ग्यासको प्रयोग गरिने गरेकोमा अहिले गाउँ घरमा पनि ग्यासको प्रयोग गर्ने प्रचलन बढेको छ ।
त्यसकारण पछिल्लो समय नेपालमा खाना पकाउने ग्यासको उपभोग वर्षेनी बढ्दै गएको छ । तर ग्यासको प्रयोगमा सधै सावधानी र सतर्कता अपनाउनु उत्तिकै जरुरी रहेको विज्ञहरुको सुझाव छ । खाना पकाउन जुनसुकै बेला पनि भान्छामा सधैं प्रयोगमा आउने ग्यासका सिलिन्डर पड्किने,ग्यास सिलिन्डरबाटै लिक भएर आगलागी हुने र ग्यास चुलोसम्म जडान गरिएको पाइप तथा रेगुलेटरबाट पनि चुहिएर दुर्घटना हुनसक्छ ।
गत बुधबार बेलुका गुल्मी क्षेत्र नम्बर –१ का सांसद चन्द्र भण्डारीको काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागि हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी जलेर गम्भीर घाइते हुनुभयो । भण्डारीकी आमाको बिहिबार बिहान कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भयो । सांसद भण्डारीलाई भने उपचारका लागि चिकित्सकहरुले बाहिर लान सुझाव दिएपछि उहाँलाई बिहिबार दिउँसो भारतको बम्बइस्थित नेशनल बर्न सेन्टर अस्पतालमा थप उपचारका लागि लगिएको छ ।
बिहिबार दाङको तुलसीपुरमा ग्यास लिक भएर सिलिन्डर पड्किदा २ जना घाइते भए । यस अघि पनि विगतमा ग्यास सिलिन्डर पड्केर दुर्घटना भएका घटनाहरु छन् । नेपाल प्रहरीको एक तथ्यांक अनुसार पछिल्ला तीन आर्थिक वर्षमा एलपी ग्यास सिलिन्डर विस्फोटबाट नौ जनाको ज्यान गएको छ भने, ४२ जना घाइते भएका छन् । यसले ग्यासको प्रयोग गर्दा,ग्यास सिलिन्डरको गुणस्तर एवं यसको प्रयोगमा सावधानी र सुरक्षा अपनाउनु पर्ने देखाएको छ । विज्ञहरुका अनुसार ग्यास प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु यस्ता छन् ।
सिलिन्डर प्रयोगमा ध्यान
ग्यास तरल बस्तु भएकाले सिलिन्डरमा भरिएको हुन्छ । त्यसकारण ग्यास भरिएको सिलिन्डरको प्रयोगबारे जानकारी हुनु जरुरी छ । सिलिन्डरबारे जानकारी दिन त्यसको घाँटीमा केही सांकेतिक अक्षर र चिन्हहरु दिइएको हुन्छ । त्यसैबाट सिलिन्डरको म्याद गुज्रिएको या नगुज्रिएको भन्ने पत्ता लगाउन सकिन्छ । जस्तै सिलिन्डरको घाटीमा अल्फाबेट ए,बी,सी र डीसँगै १६,१७,१८,१९,२०,२१,२२ लगायतका अंकहरु उल्लेख गरिएको हुन्छ । त्यसमा अक्षरले महिना र अंकले वर्ष भन्ने बुझाउँछ । ग्यास कम्पनीहरुले १२ महिनालाई समेटेर तीननीन महिना गरेर ४ भागमा छुट्याएका हुन्छन् । त्यसरी भाग लगाउदा अंग्रेजी महिनाको गणना गरिन्छ । ए भन्नाले जनवरी,फेब्रुअरी र मार्च महिनालाई जनाउँछ । त्यसैगरी बीले अप्रील,मे र जुन महिना,सीले जुलाइ,अगस्ट र सेप्टेम्बर तथा डीले अक्टोबर,नोभेम्बर र डिसेम्बर भनेर बुझाउँछ । त्यस्तै अंकले अग्रेजी वर्ष जनाउँछ । १६ भने सन् २०१६,२२ भने सन् २०२२ भन्ने बुझ्नु पर्छ । सिलिन्डरको घाटीमा ए–२२ लेखिएको छ भने मार्च २०२२ पछि सिलिन्डरको म्याद गुज्रिन्छ भन्ने बुझ्नु पर्छ । अरु अक्षर र अंकलाई पनि त्यसैगरी बुझ्नुपर्छ । ग्यास ओसार पसार गर्दा वा गाडीमा ढुवानी गर्ने क्रममा तरीका नमिल्दा सिलिन्डर कुच्चिने लेखिएको अक्षर मेटिने, र नबुझ्ने पनि हुन सक्छ । त्यसबखत खरीद गर्नेबेला पसलमा राम्रोसँग बुझनु पर्छ अथवा सिलिन्डर फिर्ता गर्नुपर्छ । यसमा उपभोक्ता सतर्क हुन जरुरी छ । किनकि पुराना म्याद गुज्रेका सिलिन्डरबाट दुर्घटनाको जोखिम हुन्छ ।
कसरी चुहावट हुन नदिने ?
ग्यास सिलिन्डर प्रयोग गर्नका लागि उपयुक्त छ भन्ने कुरा यकिन गरेपछि त्यसमा प्रयोग गरिने रेगुलेटर र ग्यास चुलोसम्म जडान गरिने पाइपमा ध्यान दिनुपर्छ । रेगुलेटर र पाइप प्रयोग गर्दा पनि गुण स्तरमा ध्यान दिनुपर्छ । कमसल प्रकारको पाइप छ भने कहिलेकाही मुसाले पनि काट्दिन पनि सक्छ र रेगुलेटर बन्द गरिएको छैन भने मुसाले काटेको ठाउबाट ग्यास चुहिन सक्छ । त्यकारण पाइप खरीद गर्दा राम्रो गुणस्तरको र तारले जेलिएको पाइप खरीद गर्नुपर्छ । त्यसैगरी रेगुलेटर खरीद गर्दा पनि गुणस्तरको प्रयोग गर्नुपर्छ । विज्ञहरुका अनुसार कमसल रेगुलेटरको भल्वबाट ग्यास लिक हुने डर हुन्छ । खाना पकाइसकेपछि सधै रेगुलेटर बन्द गर्न विर्सिनु हुँदैन । रेगुलेटर र पाइपको अवस्था हेरेर फेर्ने गर्नुपर्छ ।
ग्यास लिक भएको खण्डमा के गर्ने ?
सावधानी अपनाउँदा अपनाउँदै कहिलेकाही कतिपय कारणले ग्यास लिक हुनसक्छ । ग्यास लिक भएको कुरा गन्धले थाहा पाउन सकिन्छ । ग्यास लिक भएको थाहा पाउनसाथ भान्छा वा ग्यास राखिएको कोठा अध्यारो छ भन्दैमा बिजुली बत्ति,सलाइ, लाइटर वा अन्य आगोको झिल्को आउने कुनै पनि चिजको प्रयोग नगर्ने । रेगुलेटर खुल्लै छ भने बन्द गरिदिने । यदि ग्यास सिलिन्डरकै मुख अर्थात रेगुलेटर जोड्ने ठाउँबाटै लिक भएको हो भने सिलिन्डरमा राखिएको सेफ्टी क्यापले मुख बन्द गर्ने र सिलिन्डरलाई खुला स्थानमा लगेर राख्नुपर्छ । त्यसैगरी ग्यास सिलिन्डर भएको भान्छा वा कोठाको झ्याल बन्द छ भने तत्काल खोलिदिने । जसका कारण कोठाभित्रको ग्यास बाहिर जाओस् ।
ग्यास प्रयोगबारे सावधानी र जनचेतना अभावमा धेरै दुर्घटना हुने गरेका छन् । ग्यास लिक भएर कोठाभित्र भरिदा हावा मार्फत बिजुली बत्तिको स्वीच भित्र ग्यास पसिसकेको हुनसक्छ । त्यसकारण बिजुली बत्तिको स्वीच खोल्नु वा बन्द (अन अफ) गर्नु हुँदैन । विजुली बत्तिको स्वीच अन अफ गर्दा त्यसमा स्पार्क (आगोको झिल्को) उत्पन्न हुन्छ र आगलागी हुनसक्छ । आगोको झिल्कोले ग्यास तत्कालै बल्छ । त्यसैले ग्यास लिक भएको थाहा पाएमा बिजुलीको स्वीच नछुने एवं बत्ति वाल्ने वा निभाउने काम नगर्ने । बाल्दा मात्रै होइन निभाउँदा पनि विजुली बत्तिबाट झिल्को निस्किन्छ । ग्यास लिक भएको शंका लागेमा भान्छामा वा कोठामा जाँदा यदि बत्ति पहिल्यै देखि बलेको छ भने बल्न दिने र निभेको छ भने पनि नबाल्ने र बिजुलीको स्वीचमा छुदै नछुने ।
प्रतिक्रिया दिनुहोस्