
सिन्धुली । महाशिवरात्रीका अवसरमा कमलामाई नगरपालिका –४ मा अवस्थित शिद्धबाबा महादेव मन्दिरमा शनिबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
जिल्लाको सबैभन्दा पुरानो शिद्धबाबा महादेवको स्थान भएकाले हरेक महाशिवरात्रीका अवसरमा सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रामेछाप लगायतका जिल्लाका श्रद्धालु भक्तजनहरु मन्दिरमा आई पूजाआजा गर्ने गर्दछन् ।
भक्तजनहरुले पवित्र कमला र गौमती नदीमा स्नान गरी जल समेत लिएर शिद्धबाबा महादेवको श्रद्धा र भक्तिपुर्वक पुजा आराधना गर्ने प्रचलन रहेको छ ।
शुद्ध र पवित्र भै शिद्धबाबा महादेवको पुजा अर्चना गरे मनले चिताएको कुरा पुरा हुने जन विश्वास छ ।
यस वर्षको महाशिवरात्री मेलाका अवसरमा शिद्धबाबा महादेवको मन्दिरमा करिब चार लाख श्रद्धालु भक्तजनहरुले दर्शन गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
सिन्धुलीमाडीको च्याउकोट डाँडामा अवस्थित शिद्धबाबा महादेव करिब १८ सय वर्ष पुरानो ऐतिहासिक मन्दिर भएकाले सिन्धुली लगायत यस क्षेत्रका बासिन्दाहरुले महाशिवरात्री, रामनवमी लगायतका पर्वहरुमा शिद्धबाबालाई आस्था र विश्वासको रुपमा मान्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्