
म्याग्दी । म्याग्दीका ग्रामीण भेगका किसानहरुलाई भिरालो जमिन, पाखो र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको मुख्य स्रोत बनेको छ ।
पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही भएका हुन् । २ वर्षअघि प्रतिकिलो ४० रूपैयाँका दरले मुस्किलले बिक्री हुने गरेको अम्रिसो अहिले प्रतिकेजी १ सय २५ रुपैयाँमा बिक्री हुन थालेकाे हाे । जसका कारण यहाँका किसान उत्साहित भएका छन् ।
मूल्यमा उतारचढाव आइरहे पनि यो वर्ष प्रतिकिलो १ सयदेखि १ सय २५ रूपैयाँसम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आउनुभएका यामबहादुर सापकोटाले प्रतिकिलो १ सय २५ रूपैयाँमा लिएर ७ क्वीन्टल अम्रिसो जम्मा गर्नुभएको छ ।
उहाँले बेनी, बागलुङ र पोखरासम्म पुर्याएर अम्रिसो बेच्ने गर्नुहुन्छ । यो वर्ष केही बढ्न सक्ने अनुमान गरेको उहाँले बताउनुभयो । अम्रिसो पोखरासम्म पुर्याउँदा गत वर्ष १ सय ४० रूपैयाँमा बिक्री गर्नुभएका उहाँले यस वर्ष १ सय ६० सम्ममा बिक्री हुने बताउनुभयो ।
पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरुको भनाइ छ । कुनै समय बिक्रीका लागि नभइ घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिक रुपमा नै यसको खेती गर्न थालेका छन् ।
अम्रिसोको डाँठलाई दाउराका रुपमा र पातलाई घाँसका रुपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रुपमा बिक्री गर्दै आएका छन् । बहुउपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसान उत्साहित भएका हुन् । अन्न बालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ ।
हिउँदका समयमा अन्य घाँस पात नहुँदा अम्रिसोको पात गाई वस्तुका लागि निक्कै उपायोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो ।
प्रतिक्रिया दिनुहोस्