१२ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025


चेतनशील नेपाली जनताको नासो हो २००७ फागुन ७ ले दिएको प्रजातन्त्र


364
Shares

२००७ साल फागुन ७ गते नेपालको शासन व्यवस्थामा जनताको प्रत्यक्ष सहभागिता हुनेगरी परिवर्तन भएको थियो । सात सालको जनक्रान्तिको पृष्ठभूमिमा रक्तपातपूर्ण नै सही तर त्यो शान्तिपूर्ण र अनुशासित आन्दोलन नै थियो जसलाई भारतका अहिँसावादी नेता मोहनदास करमचन्द गान्धीको उच्चतम प्रभाव मानिन्थ्यो । त्यो जनक्रान्ति सम्पादन गर्दा नेपाल आमाका महान सपूतहरुले १९९७ साल देखि नै राणाको जहानियाँ शासनको अन्त्यका लागि गाथ गादी ताकेको भनेर सहादत दिनुपर्‍यो जसलाई उनीहरुले विना प्रतिरोध स्वीकार गरे । विना प्रतिरोध स्वीकार गर्नु नै अहिँसा थियो र त्यसैको परिणाम नै २००७ सालको अनुशासित जनक्रान्ति थियो किनकि राणाको पतनपश्चात् नै जनक्रान्तिलाई पूर्ण विराम जो दिइएको थियो ।

त्यो जनक्रान्तिबाट मुलुकले फड्को मा¥यो नयाँ युगतर्फ । त्यसैको क्रमागत भए पनि तत्काललाई राणाहरुले शान्तिपूर्ण आन्दोलनलाई तिरस्कार गरेको ठानेर जहानियाँ शासन पनि हटाउने अनि विश्वव्यापी मान्यताको प्रजातन्त्रलाई पनि स्थापना गर्ने उद्देश्यले सशस्त्र जनक्रान्ति नै रोजिएको थियो शान्तिवादीहरुको सल्लाहले । शान्तिका लागि ।

तर २००७ साल फागुन ७ ल्याउनचाहिँ सशस्त्र जनक्रान्ति नै गर्नुपरेको यथार्थ हाम्रो सामु स्पष्ट छ । तर त्यो यस्तो अनुशासित र नेतृत्वको नियन्त्रणमा रहेको सशस्त्र क्रान्ति थियो कि राणाले सत्ता छोड्ने शर्तमा स्थगित भयो । नभन्दै जहानियाँ राणा शासनले सत्ता छोड्यो र जनताको सहभागितामा सरकार बन्यो तर बन्यो त राणा अन्तिम प्राइम मिनिस्टर श्री ३ मोहन समशेर राणाको प्रधानमन्त्रित्वमा नै । वास्तवमा त्यो सरकार राणा र काँग्रेसको संयुक्त भए पनि राजाको वर्चस्वमा गठित थियो । काँग्रेसलाई लागेको थियो राजा हाम्रै हुन् अनि राणाले त पिँजरामा नै राखेका व्यक्ति नै राजा थिए । राजाका गुण र अवगुणबाट निवर्तित राणा पक्ष जानकार थियो । प्रजातन्त्र पक्षधर प्रजातन्त्रको स्थापना नै प्रशस्त मान्थ्यो र प्रजातन्त्रको प्रणालीले नै स्वतः काम गर्छ भन्ने भ्रममा थियो ।

नेपाली प्रजातन्त्रको कुरा गरौँ —प्रत्येक वर्ष फागुन ७ गते आउँछ । जान्छ । तर यसले नेपाली इतिहासमा एउटा जीवन्तता बोकेको मान्नुपर्छ । त्यो दिनले दिने स्पष्ट सन्देश भनेको नेपालका लागि नयाँ युगको सूत्रपात गरेको दिन भनेर बुझ्ने गरिएको छ । त्यस्तै बुझ्नु पनि जरुरी छ । वास्तवमा युगान्त भनेको त्यही दिन थियो । त्यसदिनको सम्झनाले प्रजातन्त्रका लागि सहादत दिनेहरु र त्यसको अमूर्ततालाई पनि जीवनको संस्कार सम्झेर मुलुकमा प्रजातन्त्र स्थापना र पुनस्र्थापना गर्ने सबै स्मरणीय र पुजनीय छन् । प्रजातन्त्रका लागि सहादत दिने थिरबम मल्ललगायतका सहिदहरु, त्यसमा अहोरात्र खटेर प्रजातन्त्र बहाली गरेरै छोड्ने योद्धाहरु र त्यस्तो ऐतिहासिक जिम्माको काम पूरा गर्ने सातसालको नेतृत्व गर्ने बीपी, गणेशमानजी, किसुनजी, सुवर्णजी, मातृका बाबु, पुष्पलाल, मनमोहनजी लगायतका नेताहरु सबै वन्दनीय छन् र माननीय हुन् ।

किन यस्तो लाग्यो मलाई कि यसपटकको प्रजातन्त्र दिवस फागुन ७ कान्तिविहीन जस्तो । प्रजातन्त्र दिवस आयो र गयो भनेजस्तो । भनिन्छ— गणतन्त्रको छायाँमा प्रजातन्त्रको अवस्था लाचार बनेको छ । वास्तवमा गणतन्त्रले नै प्रजातन्त्रको अर्थ बोकेको हुन्छ , गणतन्त्र अर्थात् समूह समूहको समन्वयबाट गरिने शासन । तर बेलायतको प्रसङ्गले गणतन्त्रको अर्थले राजाविहीन शासनको स्वरुप पहिचान भएको हो किनभने राजतन्त्रमा पनि प्रजातन्त्रले काम गरिरहन सक्दोरहेछ ।

राजाविहीन शासनलाई गणतन्त्र किन पनि भनियो होला भने राजाको शासनलाई राजतन्त्र नै त भनियो अनि गणतन्त्रको स्वरुपमा राजाविहीन भनियो होला तर स्वतन्त्रतापूर्वक जनताको सहभागिताले चल्ने शासन नै गणतन्त्रात्मक राज्य व्यवस्था हो । वैशालीको राजतन्त्रले गणतन्त्रात्मक स्वरुप दिएको थियो भनेर ऐतिहासिक तथ्य मानिन्छ ।

राणाले सुनको फुल पार्ने कुखुरी नै मार्न थालेकाले राणा शासनको अन्त्य भयो । राजाले पनि सत्ता कब्जाको बढी नै चाहना गर्दा राजतन्त्र नै गयो । कतिसम्म भने प्रजातन्त्रप्रति आस्थासम्म राख्नेलाई खोजी खोजी या त उसको चाहनामा परिवर्तन गरेर सक्रिय राजतन्त्रका पक्षमा लगे , या त जेलमा राखेर, दण्डित गरेर फाँँसी समेतको सजाय दिए । मिश्रका रक्तपातविहीन आन्दोलनबाट फालिएका अन्तिम राजा फारोँले भनेका थिए रे—अब संसारमा पाँचओटामात्र बादसाह(बास्सा) रहनेछन् , खेल्ने तासमा चारओटा र बेलायतमा एउटा ।

निरंकुशतालाई प्रजातन्त्र भन्नका लागि लागी पर्दा राजतन्त्रविहीन भयो देश । प्रजातन्त्रको खोलमा सत्ता कब्जा गर्ने नियतिले आजसम्म पनि नेपाललाई छोडेको छैन र आजको संविधान कार्यान्वयनमा देखिएको पेचिलोपन त्यसैको प्रतिफल हो । हामी सत्ता कब्जा गर्न एउटा नेपालीलाई नेपाली भन्न पनि कञ्जुस्याँई गरेका हुन्छौँ र अरु सबै अराष्ट्रवादी भन्दै आफूलाई मात्र राष्ट्रवादी, प्रजातन्त्रवादी भन्ने गर्छौं । त्यही दुर्नियत दोहोर्‍याई रह्यौँ भने साँच्चै प्रजातन्त्रको यो संकरस्वरुप पनि मासिने छ र नेपालको अस्तित्वमा समेत ग्रहण लाग्न सक्छ जुनकुरा अहिले अरुलाई तर्साउन भन्ने गरेका छौं , त्यो एकदिन घटित हुने देखिन्छ ।
आफ्नो ७२ वर्षको इतिहास केलाउन थाल्यौँ भने एउटा वर्णसंकर प्रजातन्त्रको तस्बिर (हाइब्रिड डेमोक्रेसी) सामुन्ने टल्किन्छ र हामीलाई प्रजातन्त्रले नै खिसी गर्छ । तथापि फागुन ७ ले जहिले पनि एउटा सन्देश दिइरहेको हुन्छ हामीलाई ७२ वर्षअघिको सम्झनाका आधारमा । त्यसले दिने सन्देश भनेको विधिको शासन गर्न जनताका प्रतिनिधिहरुले मात्र पाउँछन् भन्ने हो — एउटा सकारात्मक सोचसहितको जनताको जनतालाई जनताका लागि शासन गर्ने प्रवृत्तिको विकास । जनप्रतिनिधित्वको विकास । समसामयिक विकाससहितको जनताको शासन प्रणाली जहाँ जनताले सामाजिक न्याय पाउने गर्छन् ।

२००७ साल फागुन ७ देखि नै राजाले आफ्नो बचन फेर्न थाले । पहिलो निर्वाचन कहिले हुने भन्ने अनिश्चय थपियो । यसको कारण थियो सत्तामा वैधानिकरुपमा कब्जा गर्ने उपाय । सरकार गठन गर्‍यो, निर्वाचनको वातावरण हुन नदियो अनि निर्वाचन गर्न सकेन भनेर हटायो । यो चक्र घुमिरह्यो । संविधान सभाको निर्वाचन गर्ने जुन प्रतिज्ञा र बचनबद्धता थियो , त्यो अन्त्यमा संसदीय निर्वाचनमा गएर टुङ्गियो । हुन त निर्वाचन नगर्नका लागि संविधान सभाको होइन , संसदको निर्वाचन गर्ने भए मात्र संविधान घोषणा गर्ने कुरा आएपछि उधारो संविधान सभाभन्दा तत्काल व्यवस्थापिकाको निर्वाचन गर्नका लागि संविधान घोषणा जरुरी भयो । नभए त संविधान सभाले मात्र संविधान बनाउने जुन कुरा पहिले नै तय थियो ।

स्वभावतः सातसालको जनक्रान्तिको परिणाम प्रजातन्त्र थियो र प्रजातन्त्रका लागि जनक्रान्ति गर्ने नेपाली काँग्रेसको अन्तिम माग नै संविधान सभा अनि त्यसले बनाएको संविधान अनुसार जनताको प्रत्यक्ष सहभागितामा प्रजातान्त्रिक सरकारको गठन थियो । तर देशको नवजात शिशुको रुपमा रहेको प्रजातन्त्र जोगाउन काँग्रेसले गरेको सहमतिलाई राजाले कमजोरी ठानेर २०१७ साल पुस १ गतेको प्रजातन्त्रको हत्या नै गर्ने कदम जुन चाले , आज त्यो नै राजतन्त्रको लागि अभिशाप बनेको र अन्ततः राजतन्त्र गएको तथ्य जग जाहेर छ । आजसम्म ८ ओटा आमनिर्वाचन भएर प्रजातान्त्रिक सरकारहरु बने पनि किन प्रजातन्त्र सधैँ संक्रमणकालमा छ त ? आज आफैँले आफैंलाई सोध्ने प्रश्न पनि यही हो किनभने प्रजातन्त्रमा जनता नै जनार्दन हो र मुलुकको भाग्य विधाता हो । तर हाम्रा निर्णयले र हाम्रा चाहनाले मुलुक चलेको छ त ? प्रश्न सधैँ आफैंमा अनुत्तरित छ । तर उत्तर पनि स्पष्ट छ—प्रजातन्त्रलाई सत्तामा जानेले आत्मसात् गर्न सकेनन् । कसैले पनि प्रजातन्त्रको मर्मलाई आत्मसात् गर्न सकेनन् । प्रजातन्त्रवादीले त सकेनन् भने प्रजातन्त्रका विरुद्ध जनयुद्ध गर्नेले त झन आत्मसात् गर्ने कुरै भएन । तर सत्तामा नागफणी बनाएर बस्ने को छ त अहिले ? तिनै हिजो सात सालको जनक्रान्ति अपुरो भयो भनेर विरोध गर्नेहरु नै ।

प्रजातन्त्रका पक्षमा कुरा गर्दा पहिले देश, अनि शासन प्रणाली अनि दलको प्राथमिकता राखिनु पर्ने हो । प्रजातन्त्रले एउटा सर्वस्वीकार्य विधिलाई स्थापित गरी त्यसैको आधारमा सत्ता सञ्चालन गर्ने भन्ने बुझ्दा बुझ्दै किन विधिलाई भन्दा मनोगत स्वार्थलाई प्राथमिकतामा राखिन्छ ? जबाफ त भविष्यसँग मात्रै छ, ती वाणीविहीन नेपाली जनतासँग मात्र छ । जसले मतदानका आधारमा आफ्नो वाणी बोल्नेगर्थे, बोल्ने गर्छन् र भोलिपनि बोलिरहलान् । तर त्यो अस्त्र सकेसम्म लुकाउने जो प्रचलन छ प्रजातन्त्रका नाममा आन्तरिक प्रजातन्त्रमा । सायद फागुन ७ ले दिएको उपहार कति लाभदायक भयो भनेर समीक्षा गर्ने दिन पनि फागुन ७मा नै हो कि ?

२००७ सालको सन्देशले दिने महत्वपूर्ण उर्जा हो —यदि प्रजातन्त्रमा कुनै खिया लाग्न आँटेमा वा कसैले खिया लगाएर भुत्ते बनाउँदै सँसदीय व्यवस्थाविरुद्ध धाबा बोलेमा जनताले फेरि आफूलाई जागृत बनाउने छन्। जनताको शासन गर्ने अधिकार जनताका प्रतिनिधिहरुलाई मात्र छ । यदि जनता अहिलेको अव्यवस्थामा परिवर्तन आएन र प्रजातन्त्रलाई बदनाम गर्दै प्रजातन्त्रको नाममा फोहोरी खेल भई रहेर फेरि उठ्नु पर्‍यो भने मुलुकले अचिन्त्य रुपान्तरणको परिवर्तन ल्याउने छ ।
सत्ता कब्जाको दुर्नियतले इतिहासमा हिटलर जन्मेको थियो । जर्मनीमा सबैभन्दा राम्रो मानिएको वाइमर संविधानको कार्यान्वयनसँगै । त्यसैले संविधान कति उदारभन्दा पनि कार्यान्वयन गर्ने हृदय कति उदार , कति प्रजातान्त्रिक भन्ने हेरिँदो रहेछ ।
एउटा सौभाग्य नै हो कि अझै नेपालमा प्रजातन्त्रका पक्षमा जनता जस्तोसुकै दुःख झेल्न पनि तयार छन् । जस्तोसुकै त्याग गर्न पनि तयार छन् । नेपालको सार्वभौमिकता नेताहरुले भनेजस्तो न त कमजोर छ ,न त मानवअधिकारको पक्षमा लाग्ने नेपालीको कुनै साहसमा कमी नै आएको छ ।

प्रजातन्त्रिक चेतनालाई वाणीविहीनहरुको कमजोरी नठानियोस् र इतिहासमा देखिएका गल्ती दोहोर्‍याउने काम नगरियोस् । जब बाणीविहीनहरु बोल्नेछन्, त्यो गगनभेदी अट्टहासले नयाँ युगको सूत्रपात गर्नेछ । प्रजातन्त्र भनेको नै एउटा जनताको पक्षको सँस्कार हो जुन जनताका पक्षमा मात्र सदैव सँस्कारित भएको हुन्छ ।

प्रजातन्त्र भनौँ या लोकतन्त्र, पक्कै पनि लोकको जीवन सहजीकरण गर्नका लागि र जनताले प्रत्यक्षरुपमा सरकारका काममा सहभागिता जनाएको महसुस गर्नका लागि बनेको शासन प्रणाली हो जसको ढोका नेपालमा फागुन ७ ले खोलेको थियो जसलाई ढप्क्याउने काम नगरियोस् भन्नलाई पनि प्रजातन्त्रको सदुपयोग गरिरहनु परेको छ ।