२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


पशुपति क्षेत्रमा भक्तजनको भीड कायमै


130
Shares

काठमाडौं । उखानमा भनेजस्तो अबको शिवरात्री पशुपतिको यात्रा, सिद्राको व्यापार हुन छोडेको छ । भारतबाट आउँदा बेच्ने सामान लिएर आउने तीर्थालु अब पहिलाको स्वरुपमा देखिदैनन् । टापटिपे व्यापार र समय काट्नेहरुको भीडभाड शिवरात्री कोलाहलमय बन्दै गएको छ ।

शिवरात्रीका लागि भारतका विभिन्न क्षेत्रबाट पशुपति आएका साधुसन्तको भिड दोस्रो दिन पनि उस्तै छ । पाशुपत क्षेत्र परिसरमा शिवरात्रीका दिन रातभर जाग्राम बसेका उनीहरु सरकारले दिने खर्च लिन आइतबार सार्वजनिक बिदा परेकाले सोमबार बाटो खर्च लिई जाने तर्खरमा छन् । उनीहरुलाई घेरेर रमाइलो मानी मानी हेर्नेहरुको उल्लेख्य उपस्थिति देखिन्थ्यो । त्यसो त भारतको बिहारबाट आएका साधुसन्त सरकारले दिने खर्चबारे जानकारी रहेपनि शिवरात्रीकै लागि पाशुपत क्षेत्रमा पाइला टेक्न पाएकोमा सन्तुष्ट छन् ।

साधुसन्तको पाटो छोड्ने हो भने पशुपतिको राममन्दिर परिसर आसन जमाएका साधुसन्तसँग गाँजा सेवन गर्ने युवाहरुको कमी थिएन ।

देश विदेशबाट आएका साधुहरुको खानपिनको लागि दानीहरुको हात अघि बढ्दा उनीहरु दंग छन् । धुनी ताप्न पशुपति क्षेत्र बिकास कोषले यथेष्ट दाउराको व्यवस्था मिलाएपछि उनीहरु खुसी छन् । शिवरात्रीकै लागि कोषले पाशुपत क्षेत्र फूल, ध्वजापताका र रंगविरंगका बत्तीले सिंगारेको छ । विभिन्न संघ संस्थाका नाममा गरिएका भजन, कीर्तनले वातावरणलाई मन्त्रमुग्ध बनाएको छ ।

सजिसजाउ वातावरण भिडियोमा कैद गर्नेदेखि लिएर टिकटक बनाउने जमात उतिक्कै देखिन्थ्यो । कोषले शिवरात्री व्यवस्थित बनेको दावी र भक्तजनले गुनासो गर्ने क्रम यसपटक पनि जारी नै रह्यो । अनियन्त्रित भीड र अव्यवस्थित चलाइएका सार्वजनिक सवारी साधनका कारण यसपल्ट पनि शिवरात्री अस्तव्यस्त हुन पुग्यो । जसलाई समयमै सच्याउन जरुरी छ ।