१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन कानून व्यवसायीको माग


91
Shares

काठमाडौं । प्रधानन्यायाधीशको नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पुगेको कानून व्यवसायीहरुले बताएका छन् ।

उनीहरुले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन समेत माग गरेका हुन् । सोमबार सर्वोच्च अदालत बार एशोसिएशनको ४९ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा उपस्थित भएका कानून व्यवसायीहरुले संचारकर्मीसँग कुराकानी गर्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुनु शोभनिय नभएको बताउनुभयो । प्रधानन्यायाधीश नहुँदा न्याय सम्पादनमा असर पर्ने साथै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाप्रति परनिर्भर हुने अवस्था आउने उहाँले बताउनुभयो। उहाँले प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरुको अकर्मण्यता भएको बताउनुभयो ।

त्यस्तै, वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सर्वोच्च अदालतलाई कायममुकायम प्रधानन्यायाधीशबाट चलाउनु संविधान बिरुद्धको काम भएको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो स्थायी प्रधानन्यायाधीश नियुक्त गर्न संसद लगायतका सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम छोटो समयको लागि परिकल्पना गरिएको पद भएको बताउनुभयो । उहाँले स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो नदेखाइएको बताउनु भयो । लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशबाटै संवैधानिक इजलास चलिराखेको भन्दै उहाँले यस्तो हुँदा न्याय सम्पादनमा फरक पर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश नियुक्त गर्न सरकार र संसदलाई आग्रह गर्नुभयो ।

त्यस्तै, सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरिशंकर निरौलाले कामयमुकायम प्रधानन्यायाधीशले लामो समय सर्वोच्च अदालत चलाउनु उचित नभएको बताउनुभयो । उहाँले संवैधानिक इजलाशको नेतृत्व प्रधानन्यायाधीशले नै गर्नुपर्ने बताउनुभयो । कायम मुकायमले निडर भएर गुणस्तरीय फैसला गर्न नसक्ने उहाँको भनाइ छ ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया यथाशिघ्र अगाडि बढाउन उहाँले माग गर्नुभयो ।