
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोप सोमबार नेपाल आइपुगेको छ ।
‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट सोमबार बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप सोमबार ३ लाख ४५ हजार ५ सय मात्रा खोप आएको हो । यसअघि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार ६ सय मात्राका दरले नै खोप आएको थियो ।
गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिने छ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउने छ ।
सोमबार खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ । अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी छ । उक्त खोप फागुन ११ र १५ गतेमा पनि ल्याइने छ । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्