१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मतभार २०६८ सालको जनगणनाको आधारमा


546
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताउनुभएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपश्चात सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले २०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतभार कायम गरिने बताउनुभयो ।

उहाँले ०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनको अनुसूची १ मा उल्लेख भए बमोजिमको मतभारलाई आधार मानि निर्वाचन सम्पन्न गराउने स्पष्ट पार्नुभयो । निर्वाचन सम्बन्धी कानूनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था गरेको भएपनि हालैको जनगणनापछिको आधिकारीक नतिजा आयोगलाई प्राप्त नभएकाले ०६८ को जनगणनालाई आधार मान्नुपरेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले २५ गते हुने निर्वाचनका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँले २५ गते दिउँसो ३ बजे सम्ममा मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी साँझ ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने आयोगको आन्तरिक तयारी रहेको बताउनुभयो । कुनै उम्मेदवारले बहुमत प्राप्त नगरेमा २६ गते नै अर्को निर्वाचन गर्ने उहाँले जानकारी दिनुभयो । निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।