
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन माग गरेको छ ।
सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सुन आयातमा लगाइएको कोटा प्रणाली हटाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा प्रणालीबाट चलाइरहेकाले सरकारसँग सुन आयातको कोटा प्रणाली हटाउन माग गर्नुभयो । उहाँले सुन आयातको कोटा प्रणालीका कारण बजारमा सुनको माग बढी भएपनि मागअनुसार बिक्री वितरण गर्न नपाएको बताउनुभयो ।
उहाँले राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेशा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट स्पष्ट मापदण्ड बनाइ लागू गर्न र सुनचाँदी व्यवसायको विकास र प्रवद्र्धन हुनेगरी ऐन नियम कार्यविधि निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले कोटा सिस्टम क्षणिक समयका लागि हुने भएपनि सरकारले अहिलेसम्म कोटा प्रणाली नै राखिराख्नुले सुन तस्करी गरी ल्याउने क्रम बढेको बताउनुभयो । उहाँले अहिलेको सुन आयातको सिस्टम नहटे सुनचाँदी पसल चलाउन नसकिने बताउनुभयो ।
महासंघले बजारमा सिजनको समयमा ४० किलोको हाराहारीमा माग आएपनि १० किलो मात्रै सुन आयात भइरहेको जनाएको छ । विधिवत रुपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीहरुले बिना भन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार सुन बजारलाई केही धानेको भएपनि अहिले प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीहरुलाई पक्राउ गर्ने र अनावश्यक दुःख दिने गरेको आरोप महासंघको छ ।
महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यव्स्थाको समीक्ष हुन जरुरी रहेको बताएको छ । नेपाली मौलिक गरगहनाहरु विश्वव्यापीरुपमा माग भइरहेको सम्बन्धमा गरगहना निर्यातका लागि स्थानीय बजारको व्यवस्थापनका लागि र घरघरमा रहने आम उपभोक्ताहरुको सम्पतीका रुपमा रहनका लागि सुनचाँदी गरगहनाको यो पेशा व्यवसायलाई आवश्यक नीति, नियम र ऐन कानून निर्माण गर्न आवश्यक रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्