१२ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025


राष्ट्रपति निर्वाचन : मनोनयन नजिकिँदै गर्दा अझै अन्योलमै दलहरु

कुन दलसँग कति मत ?

377
Shares

काठमाडौं । आगामी शनिवार (फागुन १३) राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदानका लागि फागुन २५ गतेलाई तोकेको छ । राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा लागेका छन् । तर राष्ट्रपतिमा कुन कुन पार्टीले क–कसलाई उम्मेदवार बनाउलान भनेर नाम भने तय भएको छैन । राजनीतिक दलहरु एक अर्कामा ‘पर्ख र हेर’ को अवस्थामा छन् ।

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि अरु दलहरुसँग वार्ता र छलफल गरेर निर्णय लिने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले भने औपचारिक रुपमा पार्टीको बैठक बसेर राष्ट्रपतिका लागि वार्ता र छलफलको लागि भनेर कसैलाई जिम्मा दिएका छैनन् । तर कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन् । त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटघाट गरेर राष्ट्रपतिमा नेपाललाई अघि बढाउने वारे छलफल भएको समाचार बाहिरिएको छ । यद्यपि यसबारे समाजवादीका नेताहरुले बाहिर हल्ला आएजस्तो कुरा नभएको बताएका छन् । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच निरन्तर भेटघाट भइरहेको छ । दलहरु सकेसम्म एकले अर्कालाई राष्ट्रपतिमा रोक्ने गरी विभिन्न विकल्प अघि सार्ने रणनीतिमा छन् ।

गत पुस १० मा एमालेसहितको गठबन्धन बनाएर प्रधानमन्त्री बन्नु भएका दाहालले राष्ट्रपति एमालेलाई दिने भनेर सहमति गर्नुभएको एमालेका नेताहरुले बताउँदै आएका छन् । तर माओवादी नेताहरु भने एमालेसँग कुनै त्यस्तो लिखित सहमति नभएको बताउँछन् । उता पुस २६ मा दाहाललाई विश्वासको मत दिएको कांग्रेस त्यसको गुन स्वरुप माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने विश्वासमा छ ।

कांग्रेस बर्तमान गठबन्धन भत्काएर राष्ट्रपति आफूले उठाएको उम्मेदवारलाई जिताउने पक्षमा छ । त्यसका लागि दाहाललाई ५ वर्षसम्म प्रधानमन्त्री दिने संकेत कांग्रेस नेताहरुले दिइसकेका छन् । संसदमा ठूलो दल भएर पनि सत्ता गुमाएको पीडामा कांग्रेस दाहाललाई ५ वर्ष नै प्रधानमन्त्री दिन तयार देखिदा उता एमाले पनि अहिलेको गठबन्धन टुटाएर सत्ता बिहिन हुन चाहदैन । यस्तो अवस्थामा राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन नजिकिदै गर्दा राष्ट्रपति उम्मेदवार को होला भन्ने स्थिति देखिएको छैन । यसले सबैमा कौतुहलता जगाएको छ । स्वयंम दलहरु स्पष्ट भएका छैनन् । कुन दलबाट को राष्ट्रपतिको उम्मेदवार बन्ला भन्ने कुरा मनोनयनको अघिल्लो दिन वा मनोनयनको दिन मात्रै पत्तो लाग्ने अवस्था देखिएको छ ।

तर माओवादी र कांग्रेस विगतमा राष्ट्रपतिको भूमिकाको कारण एमालेलाई राष्ट्रपति दिनुहँदैन भन्नेमा एकमत रहेको कांग्रेस नेताहरुको दाबी छ । उता एमालेमा नेताहरु भने प्रधानमन्त्री दाहालले विगतको सहमति तोडेर यताउती गर्ने कुरा हुनै नसक्ने बताउँछन् । एक माओवादी नेताका अनुसार माओवादी एमाले उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग नगर्ने पक्षमा स्पष्ट छ । माओवादीले राष्ट्रिय सहमतिको साझा उम्मेदवार राष्ट्रपति हुनुपर्छ भन्दै आएको छ । प्रतिनिधि सभामा तेस्रो दल भएपनि माओवादी निर्णायक अवस्थामा छ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिभि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सांसदहरु मतदाता हुन् ।
पुरानै मतभारमा निर्वाचन

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि २०६८ सालकै जनगणना अनुसार संघीय र प्रदेश सभा सांसदको मतभार कायम हुने जनाएको छ । २०७४ को राष्ट्रपति निर्वाचनमा पनि २०६८ सालकै जनसंख्याका आधारमा संघीय र प्रदेश सभाका सांसदको मतभार कायम गरिएको थियो । सो बमोजिम संघीय संसद (प्रतिनिधि र राष्ट्रिय सभा) का एकजना सांसदको मतको भार ७९ (मतभार) गणना हुन्छ भने प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।

२०७८ सालमा नेपालको जनसंख्या बढेर २ करोड ९१ लाख ९२ हजार ४८० कायम पुगेको छ । त्यस अनुसार मतभार हुनुपर्नेमा आयोगले २०६८ कै जनगणना अनुसार राष्ट्रपतिको निर्वाचनको मतभारमा निर्वाचन गर्न लागेको हो ।
कसको कति मतभार ?

नेपाली कांग्रेस

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९ जना सांसद छन् । राष्ट्रिय सभामा १० जना सांसद छन् । दुबै सभाका सांसद संख्या जोड्दा ९९ हुन्छ । जसको मतभार ७ हजार ८२१ हुन्छ । सातवटै प्रदेशमा गरेर कांग्रेसका १७५ जना प्रदेश सभा सांसद छन् । जसको मतभार ८ हजार ४ सय हुन्छ । संघीय र प्रदेश गरी कांग्रेसको मतभार १६ हजार २२१ हुन्छ । तर यसमा कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्वनमा रहेकाले मत दिन पाउनु हुने छैन । गुरुङको ७९ मतभार घटाउँदा कांग्रेसको कूल मतभार १६ हजार १४२ हुन्छ ।

नेकपा एमाले
संसदमा दोस्रो ठूलो दल नेकपा एमालेको प्रतिनिधि सभामा ७९ र राष्ट्रिय सभामा १७ जना छन् । दुबै जोड्दा ९६ जना हुन्छन् । जसको मतभार ७ हजार ५८४ हुन्छ । त्यसैगरी सातवटै प्रदेश सभामा गरेर १६१ जना प्रदेश सांसद छन् । उनीहरुको मतभार ७ हजार ७२८ हुन्छ । संघीय संसद र प्रदेशको गरी एमालेसँग १५ हजार ३१२ मत छ । तर हत्या आरोप लागेका एमालेका प्रतिनिधि सभाका सांसद लक्ष्मी महतो कोइरीले मतदानमा भाग लिन पाउछन् या पाउदैनन् भन्ने टुंगो लागेको छैन । यदि पाएनन् भने एमालेको ७९ मत घट्नेछ । तर निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशित गर्दा उनको नाम हटाएको छैन ।

नेकपा माओवादी केन्द्र
संसदमा तेस्रो ठूलो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२ र राष्ट्रिय सभामा १५ गरी ४७ जना सांसद छन् । जसको मतभार ३ हजार ७१३ छ । त्यसैगरी सातै प्रदेशमा गरेर ८४ जना प्रदेश सांसद छन् । जसको मतभार ४ हजार ३२ हुन्छ । संघीय संसद र प्रदेश गरी माओवादीसँग ७ हजार ७४५ मत छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी

प्रतिनिधि सभामा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद १९ जना रहेका छन् । २० जना सांसद रहेकामा चितवनबाट निर्वाचित सांसद रबि लामिछानेको पद गएपछि अहिले उसका १९ जना सांसद रहेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभामा मात्रै सांसद छन् । १९ जना सांसदको मतभार १ हजार ५०१ हुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभामा १४ जना सांसद छन् । त्यसैगरी प्रदेश सभामा २८ जना छन् । जस अनुसार राप्रपाको २ हजार ४५० मत छ । राष्ट्रिय सभामा राप्रपाका सनंसद छैनन् ।

नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीको प्रतिनिधि सभामा १० र राष्ट्रिय सभामा ८ गरी संघीय संसदमा १८ जना सांसद छन् । त्यसैगरी प्रदेश सभामा २४ जना सांसद छन् । जसको मतभार २ हजार ५७४ हुन्छ ।

जनता समाजवादी पार्टी

प्रतिनिधि सभामा जनता समाजवादी पार्टीका १२ जना सांसद छन् । राष्ट्रिय सभामा ३ र प्रदेश सभामा २० जना सांसद छन् । यी सबैको मतभार जोड्दा २ हजार १४५ मत हुन्छ ।

लोकतान्त्रिक समाजवादी पार्टी

लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधि सभामा ४ र राष्ट्रिय सभामा १ जना सांसद छन् । त्यसैगरी प्रदेश सभामा १२ जना छन् । सबैको मतभार जोड्दा ९७१ हुन्छ ।

जनमत पार्टी

प्रतिनिधि सभामा जनमतको ६ जना र प्रदेश सभामा १६ जना सांसद छन् । जसको मतभार १ हजार ५४२ हुन्छ ।

नागरिक उन्मुक्ति पार्टी

प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका ४ जना र प्रदेश सभामा १२ जना सांसद छन् । उसको प्रतिनिधि र प्रदेश सभा गरी मतभार ८९२ मतभार छ ।

राष्ट्रिय जनमोर्चा

प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाको १जना,राष्ट्रिय सभामा १ जना र प्रलेश सभामा १ जना सनंसद छन् । तीनै जनाको मतभार गणना गर्दा २०६ हुन्छ ।

नेपाल मजदुर किसान पार्टी
नेपाल मजदुर किसान पार्टीको प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा ३ जना सांसद छन् । जसको मतभार २२३ हुन आउँछ ।

स्वतन्त्र

प्रतिनिधि सभामा स्वतन्त्र सांसद ३ जना,राष्ट्रिय सभामा १ जना र प्रदेश सभामा ११ जना छन् । उनीहरु सबैको मतभार जोड्दा ८४४ हुन्छ ।

राष्ट्रिय सभामा मनोनित
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित ३ जना सांसद छन् । जसको मतभार २३७ हुन्छ ।

अन्य पार्टी

नेपाल संघीय समाजवादी पार्टीको प्रदेश सभामा १ जना सांसद छन् । जसको मतभार ४८ छ । त्यसैगरी हाम्रो नेपाली पार्टीको २ जना प्रदेश सांसद छन् । उनीहरुको मतभार ९६ हुन्छ ।

संघीय संसदमा (प्रतिनिधि र राष्ट्रिय सभा) कूल ३३४ जना सांसद रहेका छन् भने । ७ वटै प्रदेश सभामा कूल ५५० जना प्रदेश सांसद रहेका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तीमा २६ हजार ३ सय १५ मतभार ल्याउनुपर्छ ।