२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन हुँदैन : महामन्त्री शर्मा


1.066k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको हो ।

उहाँले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु उचित नहुने बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्रीलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गर्नुभयो । महामन्त्री शर्माले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राख्नुभयो ।

महामन्त्री शर्माले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताउनुभयो । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अल्मल्याउन खोजेको उहाँले बताउनुभयो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एकठाउँमा आउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने बताउनुभयो । संसदको दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठुलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसदको पहिलो दल हुनुका नाताले कांग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उहाँले बताउनुभयो ।