१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बीमा कम्पनीका शाखा कार्यालयबाटै भुक्तानी दिने व्यवस्था हुँदै : अध्यक्ष सिलवाल


169
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयबाटै दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताउनुभएको छ ।

बुधबार बुटवलमा उद्योगी व्यवसायीसँग भएको अन्तरक्रियामा अध्यक्ष सिलवालले न्यूनतम कागजातको व्यवस्था गरी छिटोछरितो रुपमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिइएको बताउनुभयो ।

उहाँले दुर्घटना बीमाको बीमाङ्क बृद्धिका सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो । बीमा सचेतना अभिवृद्धिका लागि प्राधिकरणले प्रदेश सरकार र स्थानीय सरकारसँगको बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका प्रदेश कार्यालयहरुबाट बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापनका साथै बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण लगायतका कार्यहरु हुँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले बीमकले बीमितलाई नभई बीमितले बीमक खोज्ने परिस्थिति सिर्जना गर्नका लागि कम्पनीहरु समेत अग्रसर हुनुपर्नेमा जोड दिए । उनीहरुले काठको बीमाका सम्बन्धमा नीतिगत व्यवस्था गर्नुपर्ने, दुर्घटना बीमाको बीमाशुल्क बढाएर मानवीय क्षतिको विद्यमान बीमाङ्क बृद्धि गर्नुपर्ने माग गरे ।

बीमा दाबी भए बमोजिम दाबी भुक्तानी हुनुपर्ने, बीमा सचेतना एवम् बीमा शिक्षालाई सामूहिकरुपमा अगाडि बढाउनुपर्ने, बीमा सर्भेयरबाट छिटो प्रतिवेदन बुझाउने अनिवार्य व्यवस्था गरी छिटै दाबी फछ्र्यौट गरिनुपर्नेमा उनीहरुको जोड छ ।