
म्याग्दी । विगत दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको रोगको प्रकोप नियन्त्रण हुन नसक्दा कृषकहरू चिन्तित भएका छन् ।
धान फल्ने खेत मासेर लगाइएको केरा खेतीमा रोगको प्रकोप नियन्त्रण नभएपछि कृषकहरू चिन्तित भएका हुन् ।
केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको कृषकहरू बताउँछन् ।

जिल्लाको बेनीनगरपालिका–२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् ।

यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । सुरूवातमा सामान्य देखिएपनि केही समयपछि भने खेतीमा ठूलो क्षति पुर्याएको कृषकहरूको भनाइ छ ।

आफ्ना करिब १० रोपनी धान फल्ने खेतमा केरा खेती गर्नुभएको दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताउनुभयो । हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उहाँले बताउनुभयो ।

त्यस्तै, डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानहरूले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधी प्रयोग गरेपनि रोगको प्रकोप कम नभएको बरू रातो कमिला समेत देखिन थालेको बगरफाँटका कृषक जीतबहादुर कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्