१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वडा कार्यालय परिसरका काठ अवैध रुपमा काटिँदै


689
Shares

परासी । नवलपरासीको रामग्राम नगरपालिका–१ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ ।

अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य भएको आरोप लगाएका छन् ।

वडा कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको स्थानीयले जानकारी गराएपछि प्रहरीले काठ बरामद गरेको छ ।

बरामद काठ डिभिजनले वन कार्यालय परासीमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेले जानकारी दिनुभयो ।

बगैंचा क्षेत्र रहेको १४ कठ्ठा सार्वजनिक जग्गामा आधारभूत स्वास्थ्य केन्द्रसँगै वडा कार्यालयको भवन निर्माण गरिएको छ । वडा कार्यालय परिसरबाट अवैध रुपमा काटेर अन्यन्त्र लैजान लागेको अवस्थामा ट्याक्टरसहित १६३ क्यू फिट गोलिया काठ बरामद भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत डिलाराम पौडेलले बताउनुभयो ।

प्रहरीले काठसहित ६ जनालाई पक्राउ गरेको छ । अनुमति नलिई काठ काटिएकोले उनीहरूलाई पक्राउ गरिएको सहायक वन अधिकृत पौडेलले बताउनुभयो । काटिएका काठमा सबैभन्दा धेरै सिमल छन् भने केही जामुन र आँप रहेका छन् ।

वडाअध्यक्ष रुद्र प्रकाश उपाध्यायले केही महिना अघि उक्त क्षेत्रको काठ काट्नका लागि नगरपालिकामार्फत वन कार्यालयसँग अनुमति माग्ने निर्णय भएको बताउनुभयो । अनुमति नपाउँदै काठ काटेको बारे आफू अनिवज्ञ रहेको उहाँको भनाई छ ।

स्थानीय स–मिल (काठ मिल) मा बिक्रीका लागि पठाउने उद्देश्यले काठ काटिएको स्थानीयको आरोप छ । यसअघि पनि त्यसरी काटिएका केही काठ स–मिलमा पठाइएको स्थानीयको भनाई छ । तर, वडाअध्यक्ष उपाध्यायले भने काठ काटेको बारे आफू अनविज्ञ रहेकाले आफूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गर्नुभयो ।

बरामद काठ, ट्याक्टर र पक्राउ परेका व्यक्तिमाथि जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको वन कार्यालयले जनाएको छ ।