
इलाम । इलामको रोङ गाउँपालिकाको हाँसपोखरी–कुट्टीडाँडामा अवस्थित बहिनी पाथिभरा मन्दिरलाई रोङ गाउँपालिकाको स्वामित्वमा ल्याइएको छ ।
एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकामा रहने गरी लामो समयपछि गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो । पाथिभरा मन्दिर दर्शनका लागि कुट्टीडाँडा र हाँसपोखरी दुवै क्षेत्रबाट पद यात्रा गरिन्छ ।
इलामको रोङ गाउँपालिकाले पाथिभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाएर जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी पाथिभरा मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले गाउँपालिकाले कार्यान्वयनमा ल्याएको पाथिभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ को दफा ४ अनुसार समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिएको बताउनुभयो ।
अध्यक्ष स्याङ्बोले स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय मठमन्दिर, धार्मिक स्थलको रेखदेख र सञ्चालन स्थानीय सरकारले नै गर्ने भन्ने उल्लेख भए बमोजिम गाउँपालिकाले जारी गरेको व्यवस्थापन ऐनअनुसार मन्दिरको सञ्चालन गर्ने गरी समितिलाई जिम्मेवारी दिइएको बताउनुभयो ।
गाउँपालिकाले भक्तजनको संख्या बढाउनका लागि मन्दिरलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्य राखेको छ । मन्दिर दर्शन गर्नका लागि वार्षिक २ लाख रूपैयाँ धार्मिक पर्यटक पाथिभरा मन्दिरमा पुग्ने गर्दछन् । बहिनी पाथीभरा नामले चिनिने पाथिभरा मन्दिरमा मनोकांक्षा पूरा हुने आशा लिएर भक्तजन आउने गर्छन् ।
मेची राजमार्गको हाँसपोखरी भएर पूर्वी नेपालको प्रमुख धार्मिक स्थल सानी पाथिभरा दर्शनका लागि यात्रा तय गरिन्छ । पाथिभरा मन्दिर दर्शनका लागि कुट्टीडाँडा र हाँसपोखरी दुवै क्षेत्रबाट पदयात्रा गरिन्छ । धेरै भक्तजनहरूले हाँसपोखरीमा रहेको सिद्धिदेवी मन्दिरको दर्शनपछि बहिनी पाथिभरा दर्शनका लागि पैदल यात्रा गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्