
कैलाली । धनगढीको मोहनापुल–अत्तरियाकाे ६ लेन सडकको गेटासम्म झिलिमिली भएको छ ।
धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको हो । धनगढी–अत्तरिया सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडक बत्तीको बुधबार साँझ सुदूपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गर्नु भएको हो ।
नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम भएको हो । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री देउवाले विकास निर्माणमा साझेदारी गर्न तयार रहेको बताउनुभयो । धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ६ लेन सडकमा पहिलो चरणको स्मार्ट सडक बत्ती जडान गर्ने काम पूरा गरेको हो ।
धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने बाटोसम्म स्मार्ट सडक बत्तीले झिलिमिली भएको नगरप्रमुख गोपाल हमालले बताउनुभयो । ६ लेन सडक क्षेत्रमा रातिको समयमा हुने दुर्घटना न्यूनिकरण गर्न हरेक २८ मिटरको दूरीमा स्मार्ट सडक बत्ती जडान गरिएको हो । पहिलो चरणमा २ सय १६ पोलमा ४ सय ३२ वटा लाइट जडान गरिएको उहाँले बताउनुभयो ।
स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैं बल्दै जाने र उज्यालो भएपछि आफैं निभ्ने ‘सेन्सर’ जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ । धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको काम अन्तर्गत ६ लेन सडकमा हाईमास्ट लाइट जडानको काम गरिरहेको छ । भन्सारदेखि गेटासम्म १० वटा हाईमास्ट लाइट जडान गर्न उपमहानगर एक्लैले खर्च व्यहोर्ने छ ।
त्यसैगरी, तेस्रो चरण अन्तर्गत भन्सारदेखि चौराहा र मोहनपुरदेखि गेटासम्म स्मार्ट सडक बत्ती जडान गर्न बोलपत्र आह्वान भइसकेको धनगढी उप–महानगरपालिकाका डिभिजन इन्जिनियर दिजराज भट्टले बताउनुभयो ।
उपमहानगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करिब ९ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको कामसँगै मेडियनलाई हरियाली बनाउने काम समेत गरिरहेको छ । सडक हरियाली बनाउन उपमहानगरले तीन वटा संस्थासँग साझेदारी गरेको छ । गेटादेखि विमानस्थल सम्म विरुवा रोप्न र फेन्सिङ गर्न सूर्य नेपालले ५० लाख सहयोग गरेको छ ।
चौराहादेखि भन्सारसम्म भने विरुवा रोप्न जाउलाखेल ग्रुप अफ कम्पनीले सहयोग गरेको हो । चौराहादेखि मोहनपुरसम्म विरुवा लागउन, फेन्सिङ गर्न नगर विकास कोष र उपमहानगरले साझेदारी गरेको नगरप्रमुख हमालले बताउनुभयो । दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्ने भएकाे छ ।
तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान हुने भएकाे छ।
प्रतिक्रिया दिनुहोस्