२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


दाङमा आजदेखि हात्तीपाइले विरूद्धकाे औषधि खुवाउन सुरू


156
Shares

दाङ । दाङमा बिहीबारदेखि १३ औं चरणमा हात्ती पाइले राेगविरुद्धकाे औषधि खुवाउन थालिएको छ ।

जिल्लामा साेही औषधि १२ औँं पटक खुवाँउदा पनि लक्ष्यमा पुग्न नसकेपछि फेरी १३ औं पटक खुवाउन थालिएको हो । जिल्लामा सन् २०११ देखि खुवाउन थालिएको हो । अहिले जिल्लामा करिब ५ प्रतिशत नागरिकमा हात्तीपाइले रोगको जीवाणु रहेको भन्दै औषधि खुवाउन थालिएको हो । विगतका अभियानहरू पूर्ण रुपमा सफल नभएपछि फेरी खुवाउन थालिएको हो ।

जिल्लामा ६ महिना अगाडि गरिएको सर्वेक्षणमा ५ प्रतिशत नागरिकहरूमा हात्तीपाइले रोगको परजीवी रहेको देखाएको थियाे । २ प्रतिशत भन्दा कममा नहुँदासम्म यो औषधि खुवाउनु पर्ने अवस्था रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । शिक्षित भन्दा अशिक्षित व्यक्तिहरूले औषधि खाने गरेको पनि उनीहरूको भनाइ छ ।

जिल्लाका १० वटै स्थानीय तहमा ६ लाख ८७ हजार जनसंख्लाई औषधि खुवाउन ६ सय ६१ स्वास्थ्यकर्मी र स्वास्थ्य खटिएका छन् । पटक पटक हात्तीपाइले निवारणका लागि अभियान चलाए पनि रोग निवारण नभएपछि १३ औं चरणमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

हात्ती पाइले राेगविरुद्धकाे औषधि खुवाउने यस पटक भने सफल बनाउने लक्ष्य छ । सन् २०३० सम्ममा नेपालमा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ । यो अभियानलाई सफल बनाउनका लागि नागरिकलाई सचेत बताउन जरुरी रहेको दाङकाे तुलसीपुर उपमहानगरपालिका-९ का वडाध्यक्ष घनश्याम ढकालले बताउनुभयाे ।

स्वास्थ्यकर्मीहरू यो अभियानलाई सफल बनाउन लागेको भएता पनि स्वास्थ्यकर्मी तथा स्वयम सेवीकाहरुले नागरिकहरूलाई औषधिको बारेमा बुझाउन नसक्दा लक्ष्य हासिल गर्न नसकिएको तुलसीपुर उपमहानगरका कार्यपालिका सदस्य वसन्ता केसी बताउनुहुन्छ ।

तर यता नागरिकहरू भने रोगबाट बच्नको लागि अनिर्वाय रूपमा औषधि खानु पर्ने बताउँछन् । कसैले यो समेत गरेर १३ औं पटक औषधि खाएका छन् । कसैले ५- ६ पटकसम्म खाएका छन् । तर आफूहरूलाई कुनै समस्या नभएको उनीहरू बताउँछन् ।