२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुलीमा एक सय १५ किलो लागुऔषध गाँजा सहित चार पक्राउ


286
Shares

सिन्धुली । सिन्धुली प्रहरीले एक सय १५ किलो लागु औषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकलमा लागू औषध गाँजा ओसारपसार भईरहेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिकाबाट सिन्धुलीको मरिण गाउँपालिकाको छाप बजार आउँदै गरेका तीन वटा मोटरसाइकल चेकजाँच गर्दा एक सय १५ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा प्रदेश २–०३–०११५ ८३७१ नं. को मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१४ का ३२ वर्षीय मानध्वज वाईबा र पछाडि सवार हरिहरपुरगढी गाउँपालिका–७ का ५५ वर्षीय चन्द्रबहादुर वाईबा, ना.३७. प ४२२९ नम्बरको मोटरसाइकल चालक हरिहरपुरगढी गाउँपालिका–७ का २७ वर्षीय सूर्य बहादुर वाईबा र बा.७४ प २२८० नम्बरको मोटसाइकल चालक हरिहरपुरगढी गाउँपालिका–७ का २२ वर्षीय बिर्ख बहादुर वाईबा रहेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो ।

चेकजाँचका लागि रोक्ने क्रममा उनीहरूले प्रहरीलाई हातपात, ढुंगामुडा तथा घरेलु हतियार खुकुरी समेत प्रहार गर्न थाले पछि प्रहरीले बल प्रयोग गर्ने क्रममा सानो चाईनिज पेस्तोलबाट १ राउण्ड हवाईफायर गरि चारै जनालाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

उनीहरुको साथबाट गाँजासहित एक थान खुकुरी र ३ वटा मोटरसाइकल बरामद गरिएको थियो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानको लागि बिहीबार अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।