२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनका किसान फेरि आन्दोलित


221
Shares

काठमाडौं । चितवनका किसानले राजमार्गमा तरकारी फालेर गरिएको आन्दोलनको सुनुवाइ नभएको भन्दै शुक्रबार दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।

किसानका माग सम्बोधन गर्न दवावका लागि कृषि औजार सहित सडकमा आएर प्रदर्शन गरिएको छ ।

भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा कृषि औजारसहित भेला भएका किसान जिल्ला प्रशासन कार्यालय, बाइपास रोड, कृषि ज्ञान केन्द्र, चौबिसकोठी हुँदै नारायणगढको पुल्चोक पुगेका थिए ।

नेपालमा पर्याप्त उत्पादन हुने तरकारी, फलफूल भारतबाट आयात नगर्न, रासायनिक मल सहज रुपमा पाउने व्यवस्था गर्न, मलमा भइरहेको कालोबजारी रोक्न, किसानले पाउने अनुदानमा गरिएको कटौतीको निर्णय फिर्ता लिन किसानले माग गरेका छन् ।

उनीहरूले किसानले उठाएका दस बुँदे मागहरूलाई नीतिगत रुपमा कार्यान्वयन गर्न दबाब दिँदै आएका छन् । गत माघ २० गते किसानहरूले नारायणगढको पुल्चोकस्थित पूर्व–पश्चिम राजमार्गमा तरकारी फालेर किसान आन्दोलनको घोषणा गरेका थिए । उक्त प्रदर्शनपछि प्रधानमन्त्री, कृषि मन्त्रीलगायातले किसानका मागहरू सम्बोधन गर्ने आश्वासन दिएका थिए ।