
काठमाडौं । राष्ट्रपतिमा २ जना पूर्वसभामुखबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले ८ दलको सहमतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रपतिका दुवै उम्मेदवार पूर्वसभामुख हुनुहुन्छ । रामचन्द्र पौडेलसँग एक कार्यकालको सभामुखको अनुभव छ भने नेम्वाङसँग संविधानसभा अध्यक्षको दुई कार्यकालको अनुभव रहेको छ । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख हुनुहुन्थ्यो भने सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गर्नुभएको थियो ।
उहाँले २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गर्नुभएको थियो । राष्ट्रपतिका दुवै उम्मेदवार नेपाली राजनीतिमा लामो समयदेखि रहेका र खारिएका नेता मानिनुहुन्छ । दुवै नेता संसदीय राजनीति बारे दख्खल राख्ने नेता पनि हुनुहुन्छ । दुवै नेताको समानता शालीनता पनि हो ।
उमेर हदले सुवास नेम्वाङ भन्दा रामचन्द्र पौडेल जेठा हुनुहुन्छ । रामचन्द्र पौडेलको स्थाई घर तनहुँको मिर्लुङ, बाहुनपोखरा हो । उहाँ ७८ बर्षको हुनुहुन्छ । पौडेलले नेपाली साहित्य, संस्कृतमा स्नाताकोत्तर गर्नुभएको छ । सुवास नेम्बाङको स्थाई घर इलामको सुन्तलाबारी हो । उहाँ ७० वर्षको हुनुहुन्छ । नेम्बाङ कानुनका प्राध्यापकसमेत हुनुहुन्थ्यो । प्राध्यापन, कानून व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका उहाँ कुनै बेला प्राध्यापक संघमा पनि सक्रिय हुनुहुन्थ्याे । नेपाल बार एशाेसिएसनको महासचिव भएको अनुभव उहाँसँग रहेको छ ।
रामचन्द्र पौडेल र सुवास नेम्बाङ संसदीय राजनीतिमा सँगसँगै हुनुहुन्छ । रामचन्द्र पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालको चुनावमा तनहुँबाट निर्वाचित हुनुभएको थियो भने २०७४ सालमा पराजित हुनुभएको थियो । त्यस्तै, सुवास नेम्वाङ २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य हुनुहुन्थ्यो । २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचित हुनुभयो । २०५६ सालमा प्रतिनिधिसभा सदस्यको चुनाव जितेपछि उहाँले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी निर्वाह गर्नुभयो ।
रामचन्द्र पौडेल २०१५ सालदेखि नेपाली कांग्रेसमा आवद्ध हुनुभएको थियो । त्यसबेला मुलुक प्रजातन्त्रलाई संस्थागत गर्ने कसरतमा थियो । प्रजातन्त्रलाई संस्थगत गर्न खोज्दा खोज्दै खोसिएको राजनीतिक अवस्थाबाट राजनीतिक जीवन सुरुवात गरेका पौडेलले प्रजातन्त्र पुन: प्राप्तिका लागि संघर्ष गर्नुभएको थियोे । राजनीतिक जीवनमा उहाँ पटक पटक गरेर १४ वर्ष जेल बस्नुभएको छ । ‘रामचन्द्रका १४ वर्ष वनबास’ भनेर राजनीतिमा चर्चित पनि छ ।
यता, सुवास नेम्वाङ स्नातक अध्ययनका क्रममा २०२८ सालबाट राजनीतिमा होमिनुभएको हो । पञ्चायती व्यवस्थाका विरुद्ध आफूलाई उभ्याएका कारण २०३३ सालमा नेम्वाङ राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा पर्नुभएको थियो । २०४८ देखि लगातार सांसद छन् ।
२०४७ पछिका आमनिर्वाचनमा ६ पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पौडेलले सभामुखका अलावा स्थानीय विकास, कृषि तथा सहकारी, गृह, सञ्चार, जलस्रोत, शिक्षा र शान्ति पुनः निर्माण मन्त्रालयसहित धेरै पटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।
आ–आफ्नो पार्टीमा मध्यमार्गी समान परिचर्चा रहेका दुई नेताहरु मध्ये एक आगामी राष्ट्राध्यक्ष बन्ने पक्का भएको छ ।
प्रतिक्रिया दिनुहोस्