१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तुम्खेवा सम्मान कार्यसमितिद्वारा उच्च ओहदाका ३ जना व्यक्तिलाई सम्मान


1.469k
Shares

तेह्रथुम । तुम्खेवा सम्मान कार्यसमितिले छथर गाउँपालिका-५ ओख्रेमा एक कार्यक्रमकाे आयोजना गरी तुम्खेवा समुदायमा उच्च ओहदामा पुगेका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

कार्यसमितिले शुक्रबार तुम्खेवा वयो वृद्ध, प्रतिष्ठित व्यक्तित्व सम्मान कार्यक्रमकाे आयोजना गरी सम्मान गरेको हो । समितिले सञ्चारिका समूह नेपालका केन्द्रीय अध्यक्ष बिमला तुम्खेवालाई सम्मान गरेको छ । दुई दशक भन्दा लामो समयदेखि नेपाली साहित्य कला, पत्रकारिता र महिला सशक्तिकरणको क्षेत्रमा तुम्खेवा समुदायबाट गरेको योगदानलाई उच्च कदर गर्दै सम्मान गरिएको हो ।

यहि समुदायबाट निजामति क्षेत्रबाट अधिकृत दर्जामा पुग्न सफल भएका पृथ्वीमान तुम्खेवालाई पनि सम्मान गरिएको छ । आफ्नो कार्यक्षेत्रमा रहँदा समग्र छथर क्षेत्रमा पूर्वाधार विकासमा पुर्याएको योगदानका साथै आफ्नो समुदायको प्रतिष्ठालाई उच्च बनाएकोमा सम्मान गरिएको जनाइएको छ ।

तुम्खेवा समुदायका वयोवृद्ध महाशेर तुम्खेवालाई पनि सोही अवसरमा सम्मान गरिएको छ । आफ्नो समुदायले सम्मान गरेसँगै अझै जिम्मेवार बनाएको सम्मानित भएका व्यक्तित्वहरूले बताएका छन् ।

विभिन्न साँस्कृतिक कार्यक्रमका साथ सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रमा लिम्बु जातिका विभिन्न थरगत संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । आफ्नो समुदायले गरेको प्रगतिलाई प्रोत्साहन र हौसाला प्रदान गर्ने उदेश्यका साथ सम्मान गरिएको तुम्खेवा सम्मान कार्यसमितिका अध्यक्ष भविन्द्र तुम्खेवाले बताउनुभयो।

समितिले सम्मानित भएका व्यक्तित्वहरूलाई सम्मानपत्र दोसल्ला ओडाएर सम्मान गरेको थियो । आफ्नो समुदायले गरेको योगदानलाई उर्जा, हौसला र प्रोत्साहन गर्न गरिएको यस्ता कार्यक्रमले आगामी दिनमा युवा पुस्तालाई प्रेरणा मिल्ने अध्यक्ष तुम्खेवाले बताउनुभयाे ।