२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित


286
Shares

काठमाडाैं । राष्ट्रिय सभाले जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।

बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भन्नुभयो,-‘अब म प्रतिनिधि सभाका माननीय सदस्य सहनाज रहमानको निधन भएकोमा निम्न लिखित शोक प्रस्ताव प्रस्तुत गर्दछु । २०१६ साल जन्मनु भएकी प्रतिनिधि सभा सदस्य सहनाज रहमानको मिति २०७९ साल फागुन १३ गते ६३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ । झापा भद्रपुर निवासी स्वर्गीय रहमान जनता समाजवादी पार्टी, नेपालको तर्फबाट २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुहुन्थ्यो । यो बैठक स्वर्गीय रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गम्भीर समवेदना प्रकट गर्दछ ।’

झापाको भद्रपुर निवासी स्वर्गीय सांसद रहमान जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभाको समानुपातिक सांसद हुनुहुन्थ्यो । उहाँको हृदयघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा यहि फागुन १३ गते शुक्रबार निधन भएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन १५ गते सोमबार अपराह्न १२ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको छ ।