
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालिन सचिव ईश्वरचन्द्र महरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तात्कालिन सचिव महरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी अख्तियारको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गोरखा नगरपालिकाको जरेबरमा नारेश्वर जोड्ने गरी बनेको पक्की पुल दुबैतर्फ सडक नभएको ठाउँमा थियो । सडक नै नभएको ठाउँमा पुल बनाएर नागरिकले तिरेको कर दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन अघि बढेको थियो । त्यसक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान, नाम र डिजाइन परिवर्तन स्वीकृत गरेको पाइएको अख्तियारले जनाएको छ ।
प्रदेश सडक निर्देशनालयका निमित्त निर्देशक रामकुमार श्रेष्ठमाथि गुरु योजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा नपर्ने काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाइएको आरोप छ । यसैगरी अख्तियारले पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानामाथि बदनियतपूर्वक गुरु योजना बनाएको आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्