२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


पाँच महिनापछि पानी पर्दा किसान खुसी


4.238k
Shares

म्याग्दी । पाँच महिनापछि पहिलो पटक आइतबार म्याग्दीमा हिउँदे वर्षा भएको छ ।

पहिलो पटक परेको पानीले जिल्लाका किसान खुसी भएका छन् ।

बालीनाली सुक्नै लागेको बेला पानी पर्दा किसान खुसी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारीसमेत गरेका छन् । हिउँदे वर्षा र हिमपात नहुँदा गहुँ, जौ, उवा लगाएतका हिउँदेबाली, तरकारी र फलफूलहरु खेतबारीमा नै सुक्न लागेका थिए ।

मकै छरिसकेका किसान पनि हिउँदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । हिउँदे वर्षा गहुँबालीका लागि निकै उपयुक्त भएको कृषि प्राविधिकहरुले बताएका छन् ।

वर्षाले म्याग्दीका उच्च लेकाली क्षेत्रमा चिसो बढाएको छ । केही क्षेत्रमा हिमपात भए पनि धेरै समय नरोकिएको स्थानीयले बताएका छन् । वर्षासँगै जिल्लाको गुर्जा, देविस्थान, घोडेपानी, टिकोट लगायत ठाउँमा चिसो बढेको हो । चिसोले जनजीवन प्रभावित भएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

म्याग्दीमा कूल ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४९८ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलब ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा एक हजार ६८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार ३३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

पाँच महिनापछि पहिलो पटक भएको वर्षासँगै असिना पनि परेको छ । सामान्यरुपमा असिना परेकोले खेतीबालीलाई त्यति क्षति नगरेको किसानहरुले बताएका छन् ।